झापा : तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुल बिर्तामोड र भारतको एभियोट्रोन एरोबेस बीच एअरोस्पेस, उन्नत STEAM प्रविधि तथा कम्पोजिट स्किल्स ल्याब सञ्चालनसम्बन्धी समझदारी (MOU) भएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा तक्षशिलाका कार्यकारी निर्देशक डा. अञ्जली कार्की, शैक्षिक निर्देशक डा. भिक्टर आई. जोसेफ तथा एअरोस्पेस बाई एभियोट्रोन एरोबेसका बिजनेस पार्टनर सुभाषिस चटर्जीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार तक्षशिलामा विश्वस्तरीय स्पेस टेक्नोलोजी एण्ड रिसर्च, उद्यमशीलता तथा नवप्रवर्तन, कृत्रिम बौद्धिकता (AI) तथा डाटा साइन्स, रोबोटिक्स तथा अटोमेसन, एअरोस्पेस तथा एभिएसन, अटोमोबाइल तथा मोबिलिटी शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। विद्यालयका अनुसार नेपालमै पहिलोपटक यस प्रकारको पहल सुरु हुन लागेको हो।
यस सहकार्यमार्फत विद्यार्थीहरूलाई अत्याधुनिक पूर्वाधार, व्यवहारिक सिकाइ तथा उद्योगमुखी तालिम प्रदान गरिनेछ। आधुनिक ल्याब उपकरण, व्यवहारिक अभ्यास र सीपमूलक शिक्षामार्फत विद्यार्थीहरूलाई भविष्यका करियर अवसरका लागि सक्षम बनाउने लक्ष्य राखिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै डा. अञ्जली कार्कीले उक्त सहकार्यले २१औँ शताब्दी सुहाउँदो सीप, नवप्रवर्तन, सिर्जनशीलता तथा प्राविधिक दक्षतामा आधारित शिक्षालाई थप मजबुत बनाउने बताउनुभयो। उहाँले परम्परागत कक्षाकोठाभन्दा बाहिर गएर विद्यार्थीलाई व्यवहारिक तथा प्रविधिमैत्री शिक्षासँग जोड्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो।
विद्यालयले यस पहलबाट एअरोस्पेस, एभिएसन, रोबोटिक्स, कृत्रिम बौद्धिकता, अटोमेसन तथा उन्नत इन्जिनियरिङ क्षेत्रमा विद्यार्थीका लागि नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरेको छ।


