झापा : बिर्तामोड नगरपालिकाले ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय श्रेष्ठको विदाई गरेको छ। नियमित सरुवा प्रक्रिया अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुली जान लाग्नुभएका श्रेष्ठलाई नगरपालिकाले दोसल्ला ओढाएर सम्मानपत्रसहित विदाई गरेको हो।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, लेखा शाखा प्रमुख तेजिन्द्र तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राई, युवा व्यवसायी तथा सामाजिक युवा पदम श्रेष्ठ लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा श्रेष्ठलाई सम्मानसहित विदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै डिएसपी श्रेष्ठले बिर्तामोडका चुनौतीहरूलाई अवसरका रूपमा लिएर काम गरेको बताउनुभयो। बिर्तामोडमा खुला सिमानाका कारण लागुऔषध दुर्व्यसनको ठुलो चुनौती रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि समाजका सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिनुभयो।
गत भदौ २३ र २४ गतेको आन्दोलनको घटनालाई स्मरण गर्दै डिएसपी श्रेष्ठले भन्नुभयो "क्षतिग्रस्त बनेको ईलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको चाँडै पुन:निर्माण गरी प्रहरी पुन:स्थापना गर्न नगरपालिका, जनप्रतिनिधि, स्थानीय सामाजिक संघसंस्था तथा प्रबुद्ध व्यक्तित्वहरूबाट ठुलो सहयोग मिल्यो, यसका लागि म धन्यवाद व्यक्त गर्दछु ।"
उहाँले बिर्तामोड बसाइका क्रममा आफ्नो टोलीले कुनै नियत नराखी सक्दो काम गरेको धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डिएसपी श्रेष्ठले कमान्ड सम्हालेदेखि बिर्तामोड क्षेत्रको शान्तिसुरक्षा र लागुऔषध नियन्त्रणमा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो।
डिएसपी श्रेष्ठ सिन्धुली सरुवा भएपछि ईलाका प्रहरी कार्यालय अनारमनीको प्रमुखका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट सरुवा भई आउन लाग्नुभएका डिएसपी सन्तोष पाठकले शुक्रबारदेखि कार्यभार सम्हाल्ने जनाइएको छ।


