झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक दिने नि:शुल्क बाल स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
'सहयोगी मनहरु नेपाल' को आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सम्पन्न भएको उक्त शिविरबाट बुद्धशान्ति र आसपास क्षेत्रका कुल ६२ जना बालबालिकाहरू लाभान्वित भएका छन्।
शिविरमा कञ्चनजंघा मोडेल हस्पिटल बिर्तामोडको प्राविधिक सहयोग गरेको थियो । बाल रोग विशेषज्ञ डा. प्रमोद कुमार राय र ३ जना प्राविधिकको टोलीले बालबालिकाहरूको स्वास्थ्य जाँच गर्नुभएको हो ।योसंगै शिविरमा सहभागी बालबालिकाहरूलाई आवश्यक पर्ने सम्पूर्ण औषधिहरू हस्पिटलकै तर्फबाट नि:शुल्क वितरण गरिएको हो ।
स्वास्थ्य परिक्षणका क्रममा बालपालिकाहरुमा मुटुरोग, फोक्सो, थाईराइड, निमोनिया लगायतका समस्या देखिएको डा. रायले जानकारी दिनुभयो । परिक्षणका क्रममा अलि जटिल समस्या देखिएका बालबालिकालाई विभिन्न हस्पिटल रेफर गरिएको जनाईएको छ ।
आयोजक संस्थाका अध्यक्ष भिमप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि खतिवडाले सामाजिक संस्थाहरूले यसरी गाउँ-गाउँमा पुगेर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु निकै सराहनीय कार्य भएको बताउनुभयो। उहाँले बालबालिकाको स्वास्थ्यप्रति स्थानीय सरकार सधैं गम्भीर रहेको उल्लेख गर्दै यस्ता परोपकारी अभियानमा गाउँपालिकाले सधैं सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा जानकारी दिँदै आयोजक संस्थाका सचिव विष्णु उप्रेतीले 'सहयोगी मनहरु नेपाल' संस्थाले झापा लगायत कोशी प्रदेश तथा नेपालका विभिन्न जिल्लाहरूमा पुगेर निरन्तर मानवीय र सामाजिक सेवाका कार्यहरू गर्दै आएको बताउनुभयो। संस्थाले विगतदेखि नै ग्रामीण एवं विपन्न बस्तीहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, विद्यार्थीहरूका लागि कापी, कलम तथा पोशाक वितरण गर्ने र गरिब परिवारहरूमा पुगेर सिरक, डसना एवं खाद्यान्न वितरण गर्ने जस्ता परोपकारी कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।
शिविरमा रेडक्रसका बुधबारे संयोजक पुष्पराज भट्टराई र सचिव टंक निरौला लगायतको उपस्थिति रहेको थियो।


