झापा : निखिल तामाङको ह्याट्रिकको मद्दतमा शानदार जित निकाल्दै अर्जुनधारा–८ वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा वडा नम्बर ३ लाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर ८ अन्तिम आठमा पुगेको हो ।
अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा सम्पन्न खेलमा वडा नम्बर ८ का लागि निखिल तामाङले ह्याट्रिक गरे । उनले ३३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६४औँ मिनेटमा दोस्रो गोल गरेका निखिलले ६८औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।
वडा नम्बर ८ का लागि बादल तामाङले ३७औँ मिनेटमा गोल थपे । यस्तै, राजीव ढुङ्गनाले ५२औँ मिनेटमा तथा दीपेश कटुवालले ७२औँ मिनेटमा एक–एक गोल गरे ।
वडा नम्बर ३ ले अपेक्षित प्रदर्शन गर्न नसक्दा फराकिलो हार बेहोर्नुपर्यो ।
ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ८ का खेलाडी निखिल तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनलाई नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, वडा नम्बर ५ का वडाध्यक्ष गिताराज खड्का तथा वडा नम्बर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत भोलिबाट क्वाटरफाइनलका खेल सुरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा भोलि वडा नम्बर ११ र वडा नम्बर ४ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य–सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतियोगितामा अर्जुनधाराका ११ वटै वडाको सहभागिता रहेको छ । वडा स्तरमा खेलाडी उत्पादन तथा नगरस्तरीय टोली निर्माणका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्ने समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
गोलधाप युवा क्लब सह–आयोजक रहेको प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने जनाइएको छ ।


