काठमाडौँ, ११ जेठ । देशका अधिकांश भागमा वर्षाको मात्रा कम भएसँगै देशैभरि गर्मी बढेको छ। अन्य क्षेत्रको तुलनामा पश्चिम तराईका जिल्लाहरू अत्यधिक गर्मीको चपेटामा परेका छन्, जहाँ केही दिनदेखि लगातार तातो हावा र तातो लहर (लू) चलिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा तातो हावा र तातो लहर चल्ने सम्भावना कायमै रहने देखिन्छ। तराईमा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगन्ज, धनगढी, र दिपायल लगायतका क्षेत्रका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसको आसपास पुगेको छ।
पश्चिम तराईमा गर्मीको लहर चलिरहँदा पहाडी र हिमाली क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।
बढ्दो गर्मी र ‘लू’ का कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढेको बेला शरीरमा पानीको कमी हुन नदिन पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिर निस्केर गरिने कामहरू सकेसम्म कम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने भन्दै सचेत गराएको छ। मुटुको धड्कन बढेमा, श्वासप्रश्वासमा समस्या भएमा, रक्तचाप कम भएमा, पसिना आउन छोडेमा, गम्भीर टाउको दुखेमा, वाकवाकी लागेमा वा उच्च ज्वरो आएमा यसलाई सामान्य रूपमा नलिन र तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा जान मन्त्रालयले विशेष अनुरोध गरेको छ।


