शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाको केर्खामा हायस सहचालकमाथि खुकुरी प्रहार

सोमवार, असोज २२, २०८०

झिलझिले । झापामा हायस सहचालकमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंबाट यात्रु लिएर काँकरभिट्टातर्फ आइरहेको हायसका सहचालकमाथि खुकुरी प्रहार भएको हो ।

झापाको कमल गाउँपालिकास्थित केर्खाको बस बिसौनीमा अज्ञात व्यक्तिले नाम, थर र वतन नखुलेका सहचालकमाथि खुकुरी प्रहार गरेर सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । यात्रु ओराल्न रोकिएको बेला सहचालकमाथि एक्कासी खुकुरी प्रहार भएको हायसका चालकले बताएका छन् । चालक भने सुरक्षित छन् ।
बा ४ ख २९६५ नम्बरको उक्त हायसका घाइते कर्मचारीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको झिलझिलेस्थित लालीगुराँस हेल्थ केयर सेन्टरका स्वास्थ्यकर्मीले बताएका छन् । घाँटी र डढेल्नोमा गहिरो चोट लागेका सहचालकको लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिलेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल रेफर गरिएको सेन्टरले जनाएको छ ।

काठमाडौंबाट झापाको केर्खासम्म आएका पुरुष यात्रुले हायसका सहचालकसँग दिउँसोदेखि नै विवाद गरिरहेका थिए । उनैले साथी बोलाएर सहचालकमाथि धारिलो हतियारले आक्रमण गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी केर्खा र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले आक्रमणकारीको खोजी कार्य शुरु गरेको छ ।

सम्बन्धित खबर