झापा : झापाको बिर्तामोडमा इलामका एक नागरिकको शंकास्पद मृत्युको घटनाले यतिबेला इलाका प्रहरी कार्यालय अनारमनीको कार्यशैली र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ।
मृत भेटिनु केही समय अघि हात बाँधिएको र चिउँडोमा चोट लागेको अवस्थामा प्रहरीले नै भेटेका इलामका रामकुमार थेगिम मृत अवस्थामा भेटिएपछि प्रहरीको मानवीय संवेदनशीलता र उद्धार तत्परतामाथि चौतर्फी बहस सुरु भएको हो।
सार्वजनिक कार्यक्रमहरूमा ‘म काम गर्न आएको हुँ, मलाई काम दिनुस्’ भन्ने उद्घोषका साथ कमाण्ड सम्हालेका डीएसपी सन्तोष पाठकको कार्यकालमा घटेको यो घटनाले नेपाल प्रहरीको ‘प्रहरी मेरो साथी’ भन्ने मूल नारालाई नै गिज्याएको स्थानीय र आफन्तको आरोप छ।
इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ का रामकुमार थेगिम (लिम्बु) उपचारका लागि झापा आइपुगेका थिए। तर, गत जेठ १५ गते बेलुकी बिर्तामोडको ग्रिनफिल्ड स्कुल नजिकैबाट उनी अचानक सम्पर्कविहीन बनेका थिए।
आफन्तले रातभरि खोजी गर्दा पनि फेला पार्न नसकेपछि अन्ततः जेठ १६ गते दिउँसो उनीहरूले इलाका प्रहरी कार्यालय अनारमनीमा हुलियासहित खोजतलासका लागि लिखित निवेदन दिएका थिए।
निवेदन दर्ता भएको केही घण्टामै बिर्तामोड–५ को महानन्द चोकमा स्थानीयले थेगिमलाई फेला पारेका थिए। अचम्म र शंकास्पद कुरा त के छ भने, फेला पर्दा उनको हात बाँधिएको थियो भने शरीर र भेष्टमा रगतका लतपत्तिएका दागहरू थिए।
स्थानीयले खिचेको भिडियोमा उनी आफ्नो नाम र ठेगाना भन्न सक्ने अर्ध-चेत अवस्थामा देखिन्छन्। स्थानीयको खबरपछि प्रहरी टोली घटनास्थल त पुग्यो, तर त्यहीँबाट प्रहरीको चरम लापरबाही र सुस्तता सुरु भएको प्रत्यक्षदर्शीको भनाइ छ।
एक स्थानीयबासी भन्छन्, ‘हामीले फेला पार्दा उसको अवस्था नाजुक थियो, हात बाँधिएको थियो। प्रहरीलाई खबर गर्यौँ, प्रहरी आयो तर जति गम्भीरता देखाउनुपर्ने थियो, त्यस्तो देखिएन। प्रहरीले उनलाई परिवार तथा आफन्तको जिम्मा लगाएन। बाँधेको हात खोलिदिएर छोडिदियो।’
हराएको व्यक्तिको हुलिया र निवेदन पहिले नै प्रहरी कार्यालयमा भइरहँदा, घाइते र अस्वस्थ अवस्थामा भेटिएका नागरिकलाई तत्काल अस्पताल पुर्याएर उपचार गराउनु प्रहरीको पहिलो र मुख्य कर्तव्य हुनुपर्ने थियो।
तर, प्रहरीको सुस्तता र समन्वयको अभावले गर्दा थेगिमले समयमै उपचार पाउन सकेनन् र अन्ततः उनको मृत्यु भयो।
यता, राज्य र प्रहरीको यही अनुदार एवं गैरजिम्मेवार कार्यशैलीका कारण थेगिमले ज्यान गुमाएको भन्दै मृतकका आफन्तले गम्भीर आक्रोश पोखेका छन्।
यो घटनाले इलाका प्रहरी कार्यालय अनारमनीका नयाँ कमाण्डर डीएसपी सन्तोष पाठकले मृत अवस्थामा भेटिएका र महानन्द चोकमा हात बाँधेको अवस्थामा भेटिएका एउटै व्यक्ति भएको पुष्टि गरे।
उनले भने, ‘हाम्रो क्युआरटीले भेटेको हो। त्यो बेला उहाँ अर्धचेत अवस्थामा हुनुहुँदो रहेछ। उहाँले ‘म भान्जीकोमा एकलै जान सक्छु’ भनेपछि हाम्रो टोलीले छोडेको हो। पछि मृत व्यक्तिको हुलिया पहिचान गर्दा उहाँ नै हुनुहुँदो रहेछ।’
प्रहरीका अनुसार उनले रक्सी पिएर अर्धचेत भइ दिसापिसाब शरीर र कपडामा लागेको थियो। सडकमा छट्पटाइरहेको एउटा नागरिकको ज्यान जोगाउन नसक्ने प्रहरी प्रशासनले कस्तो ‘काम’ को वकालत गरिरहेको छ भन्दै नागरिक तहमा अहिले गम्भीर प्रश्न उठेको छ।


