झापा, २४ जेठः भद्रपुर नगरपालिका-३ स्थित ‘किचकबध’स्थलमा पुरातत्व विभागको टोलीले नवौँ चरणको उत्खनन सुरु गरेको छ । पुरातत्व विभागबाट आएको दुई सदस्यीय टोलीले स्थानीयको सहयोगमा किचकबध स्थलमा उत्खनन सुरु गरेको हो ।
महाभारतकालीन विराट राजाको सालो किचकको दरबार रहेको विश्वास गरिएको उक्त स्थानमा यही जेठ ८ गतेदेखि नवौँ चरणको उत्खनन गरिएको पुरातत्वविद् उद्धव आचार्यले बताउनुभयो । उहाँको नेतृत्वमा विभागको टोली उत्खननमा खटिएको छ ।
जेठभित्र वर्षको उत्खनन सकिने उहाँले जानकारी दिनुभयो । सो स्थानमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको छ । विगतमा उत्खनन गर्न बाँकी रहेका स्थानमा यसपटक काम थालिएको उहाँले बताउनुभयो ।
दश बिघा क्षेत्रफलमा फैलिएको किचकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएकाले प्राचीन महत्वका संरचना तथा वस्तु नष्ट हुने उच्च जोखिम छ ।
किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किचक’ नामका ‘सालो’ थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेको कारण भीमसेनले विराटनगरदेखि लखेटेर किचकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यहीकारण यस स्थानलाई किचकबधस्थल भनिन थालेको स्थानीय बताउछन् ।
किचकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी भने हुन सकेको छैन । थोरै बजेट भएकाले उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको पुरातत्वविद् आचार्यले बताउनुभयो ।
उहाँका अनुसार विगतमा यहाँ भएका उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।


