झापाको बिर्तामोड नगरपालिका ४ स्थित तारा नमस्ते बालग्रामको आयोजनामा ‘बालगृह, बालबालिका र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२०६९ सालदेखि सञ्चालनमा रहेको उक्त संस्थाले अभिभावकविहीन तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ। हाल संस्थामा ३२ जना बालबालिका आश्रित रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारीले बालबालिकाको शिक्षा, संरक्षण तथा उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय तह, शैक्षिक संस्था र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले आश्रित बालबालिकालाई गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र आवश्यक अवसर उपलब्ध गराउनु सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
कार्यक्रमको प्रारम्भमा संस्थाकी प्रबन्ध निर्देशक यसोदा चापागाईंले स्वागत मन्तव्य व्यक्त गर्दै बालगृहमा रहेका बालबालिकाको शिक्षा, संरक्षण तथा सर्वाङ्गीण विकासका लागि सरोकारवाला निकाय र समुदायको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
अन्तरक्रियामा बालगृहमा आश्रित बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, व्यक्तित्व विकास तथा उज्ज्वल भविष्य निर्माणमा सरोकारवाला निकाय, अभिभावक, सामाजिक संघसंस्था र समुदायको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
संस्थाका कार्यवाहक अध्यक्ष याम बिमलीले प्रोजेक्टरमार्फत संस्थाको पृष्ठभूमि, स्थापना उद्देश्य, हालसम्मका गतिविधि तथा बालबालिकाको क्षेत्रमा संस्थाले पुर्याउँदै आएको योगदानबारे जानकारी गराउनुभएको थियो।
सहभागीहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सबै पक्षबीच सहकार्य, जिम्मेवारीबोध र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।
संस्थाका कार्यवाहक अध्यक्ष बिमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, सुरक्षा निकायका प्रतिनिधि, विद्यालय कर्मचारी, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेन्द्र राउतले गर्नुभएको थियो।
बालबालिकाको हित, अधिकार संरक्षण तथा गुणस्तरीय शिक्षाप्रति सामूहिक प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।


