झापा : सामाजिक उत्तरदायित्व, समावेशी शिक्षा तथा सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलले झापा गाउँपालिकास्थित मदरसा इस्लामिया रोहिमारी र मुस्लिम गर्ल्स मदरसालाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण गरेको छ।
विद्यालयका संरक्षक दुर्गा प्रसाईको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको अध्ययन–अध्यापनलाई थप सहज, व्यवस्थित तथा गुणस्तरीय बनाउन ६० सेट डेस्क–बेञ्च हस्तान्तरण गरिएको थियो। साथै, विद्यार्थीहरूको सुविधाजनक अध्ययनका लागि १० वटा कक्षाकोठा पूर्ण रूपमा व्यवस्थापन (फर्निसिङ) गरी सम्बन्धित मदरसाहरूलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
यस अवसरमा बोल्दै संरक्षक प्रसाईले शिक्षा समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै देशका हरेक बालबालिकाले गुणस्तरीय शिक्षामा समान पहुँच प्राप्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले शैक्षिक संस्थाको सुदृढीकरण तथा आवश्यक पूर्वाधार विकासमार्फत सक्षम र शिक्षित समाज निर्माण गर्न सकिने बताउनुभयो।
विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईले शिक्षा आफ्ना विद्यार्थीहरूमा मात्र सीमित नराखी समाजका हरेक वर्ग र समुदायसम्म पुर्याउने उद्देश्यका साथ विभिन्न सामाजिक तथा शैक्षिक अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले यस्ता सहयोगात्मक कार्यक्रमले सामाजिक सद्भाव, समावेशिता तथा शैक्षिक अवसरको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण कार्यक्रमपछि सोही स्थानमा बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो। शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको थियो। स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा समुदायका अन्य सदस्यहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, मदरसा व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शैक्षिक सहयोग र स्वास्थ्य सेवामार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमको प्रशंसा गर्दै यसको निरन्तरताको अपेक्षा व्यक्त गरेका थिए।
तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलले सञ्चालन गरेको यो पहल शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामार्फत समुदायको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धताको अर्को महत्वपूर्ण उदाहरण बनेको छ। कार्यक्रमले शैक्षिक अवसरको विस्तार, सामुदायिक सशक्तीकरण तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने विद्यालयको दीर्घकालीन दृष्टिकोणलाई थप मजबुत बनाएको जनाइएको छ।


