झापा, १ असार : बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले आर्थिक वर्ष २०८२ मा सञ्चालन गरेको निःशुल्क डायलाइसिस सेवाबाट ७ हजार ६७६ जना मिर्गौला रोगी लाभान्वित भएका छन्।
अस्पतालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरणअनुसार सोही अवधिमा ३ हजार ३३० जनाले आईसीयू, एनआईसीयू तथा पीआईसीयूजस्ता क्रिटिकल केयर सेवा प्राप्त गरेका छन्। हृदय रोग उपचारअन्तर्गत ५५२ वटा एन्जियोग्राफी र २०४ वटा एन्जियोप्लास्टी गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीका अनुसार आर्थिक वर्ष २०८२ मा ४ लाखभन्दा बढी बहिरङ्ग (ओपिडी) बिरामीले सेवा लिएका छन्। यस्तै २० हजार १६० जना भर्ना (आईपिडी) बिरामीको उपचार गरिएको छ भने १८ हजार ६२० जनाले आकस्मिक सेवा प्राप्त गरेका छन्। सोही अवधिमा ६ हजार ८५० वटा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
हाल अस्पतालमा २२ वटा क्लिनिकल विभागमार्फत सेवा सञ्चालन भइरहेको छ। १६ जना प्यारामेडिक्स, ४१ जना मेडिकल अफिसर, ५० जना लेक्चरर, ४ जना एसोसिएट प्रोफेसर, १५ जना प्रोफेसर तथा ३५६ जना दक्ष नर्सिङ जनशक्तिबाट २४सै घण्टा स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ।
नेपाल सरकारले निजी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम हटाए पनि बि एण्ड सी अस्पतालले सोही सेवा, सुविधा र शुल्कअनुसार उपचार सेवा उपलब्ध गराउँदै आएको अस्पताल प्रशासनले जनाएको छ। विपन्न नागरिक औषधि उपचार कोषमार्फत सेवा सञ्चालन गर्नुका साथै मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवा निरन्तर उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. वीरेन्द्र यादवले बि एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले छोटो समयमै पूर्वी नेपालका बिरामीहरूको विश्वास जित्दै गुणस्तरीय उपचार सेवाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनुभयो।
अस्पताल व्यवस्थापनले आगामी दिनमा थप सुपर स्पेसियालिटी सेवा विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग तथा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।


