लन्डनको उत्तरी क्षेत्रमा शनिबार दुई रेल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
रेल दुर्घटनाको कारणबारे बेलायती दुर्घटना अनुसन्धानकर्ताहरूले शनिबार नै प्रारम्भिक अनुसन्धान गरिरहेको बताएका छन् । दुर्घटनामा एक रेल चालकको मृत्यु भएको, दर्जनौं यात्रु घाइते भएका तर केही सामान्य उपचारपछि घर फर्किएका छन् । अस्पतालमा भर्ना भइ सेवा लिइरहेका २८ घाइते यात्रुमध्ये नौ जनाको अवस्था गम्भीर छ ।
शुक्रबार अपराह्न बेलायतको राजधानी लन्डनबाट करिब ९० किलोमिटर उत्तर बेडफोर्ड नजिकै भएको दुर्घटनामा एउटै ट्र्याकमा लन्डनतर्फ गइरहेका दुईवटा रेल एकआपसमा ठोक्किएका थिए । दुवै रेल पूर्वी मिडल्यान्ड्स रेलवे (इएमआर) ले सञ्चालन गरेको बताइएको छ ।
यातायात मन्त्री हेडी एलेक्जान्डरले दुर्घटनाको कारणबारे अहिले नै अनुमान गर्नु हतार हुने भएको बताउँदै ‘पूर्ण र निष्पक्ष अनुसन्धान’ गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
बेलायतको यातायात प्रहरी कार्यालयकी प्रमुख लुसी डि ओर्सीले शनिबार घटनास्थल नजिकै दिएको जानकारीमा भनिएको थियो, “८० भन्दा बढी घाइतेलाई अस्पतालमा उपचार गरिएको थियो र २८ जना अझै अस्पतालमा छन् । नौ जनाको अवस्था गम्भीर छ ।” पुलिसले यसअघि नै एक रेलको चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको थियो ।
डि ओर्सीले भन्नुभयो, “बेलायतको यातायात प्रहरीका विशेष अनुसन्धानकर्ताहरू रेल दुर्घटना अनुसन्धान शाखा (आरएआइबी) सँग मिलेर घटनाको यथार्थ विवरण पत्ता लगाउन काम गरिरहेका छन् ।”
बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिमा राजा चाल्र्स दुर्घटनाप्रति ‘अत्यन्त दुःखी’ भएको बताउँदै मृतकका परिवार र घाइतेहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ।
–प्रत्यक्षदर्शीको भनाइ–
एक यात्रु पॉल काभिनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, “हामी रोकिएका थियौं र अचानक पछाडिबाट ठूलो धक्का लाग्यो ।” उहाँले आफ्नो डिब्बामा धेरै घाइते भएको र धेरै मानिसहरू घाइते अवस्थामा, कसैको नाक फुटेको देखेको बताउनुभयो ।
पूर्वी इङ्ल्यान्ड एम्बुलेन्स सेवाले शनिबार दिएको जानकारीमा ११ जनालाई अत्यन्त गम्भीर चोट, ३२ जनालाई गम्भीर चोट र ५६ जनालाई सामान्य चोट लागेको जनाएको छ । सेवाले २० भन्दा बढी एम्बुलेन्स, विशेष उद्धार टोली र छ वटा एयर एम्बुलेन्स उद्धारमा खटाएको बताएको छ ।
क्षेत्रीय अग्नि तथा उद्धार सेवाले २० भन्दा बढी विशेष सवारी साधन खटाएको र घटनाको चरम अवस्थामा ७० भन्दा बढी दमकल कर्मचारी तथा अधिकारीहरू घटनास्थलमा परिचालित भएको जनाएको छ ।
अर्का यात्रु ब्रेट बायाटलाई उद्धृत गर्दै बीबीसी रेडियोले जनाएको छ, “घटना भएको लामो समयपछि पनि यो घटना अवास्तविक जस्तो लागिरहेको छ र अब मेरो धैर्य गुमेको अवस्थामा पुगेको छु ।”
उहाँले ‘सिग्नल फेलियर बारम्बार हुने गरेको’ भन्दै पुरानो रेल सञ्जालप्रति प्रश्न उठाउनुभएको छ।
अधिकारीहरूले सिग्नलिङ समस्या यो दुर्घटनाको कारण हो वा होइन भन्ने बारे अझै केही बताएका छैनन् ।
–दुःखद् दिन–
ईएमआरका म्यानेजिङ डाइरेक्टर विल रोजर्सले यो दिनलाई ‘रेल सेवा प्रदायकका लागि अत्यन्त दुःखद दिन’ भनेका छन् । उहाँले घटनास्थलमा भन्नुभयो, “हाम्रो चालकको दुःखद मृत्यु भएकोमा र अन्य धेरै घाइते भएकोमा हामी गम्भीर दुःखी छौं ।”
बेलायतमा रेल दुर्घटना अपेक्षाकृत दुर्लभ हुन्छन् ।



