बिर्तामोड, ६ असार : झापामा ‘लागूऔषधविरुद्ध झापा अभियान’ सुरु भएको छ । अभियानको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
बिर्तामोडमा आयोजित विशेष समारोहबीच अभियानको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, वनेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरे, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, विद्यार्थी आविष्कार राउतलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
वक्ताहरूले लागूऔषधको समस्या केवल सुरक्षा चुनौती मात्र नभई गम्भीर सामाजिक समस्यासमेत भएकाले यसको रोकथाम, नियन्त्रण र सचेतना अभियानलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार सीमावर्ती जिल्ला भएकाले झापामा लागूऔषधको ओसारपसार तथा प्रयोगकर्ता दुवैको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दै गएको छ। यही अवस्थालाई मध्यनजर गर्दै विभिन्न सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो।
प्रहरीका अनुसार अभियानअन्तर्गत विद्यालय केन्द्रित सचेतना कार्यक्रम, सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सन्देश प्रवाह, समुदाय–प्रहरी साझेदारीको विस्तार तथा युवालाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। साथै, जिल्लाभर रहेका ७१ प्रहरी एकाइ परिचालन गरी लागूऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
प्रहरीले लागूऔषध नियन्त्रणलाई केवल कारबाहीमा सीमित नराखी रोकथाम, उपचार र पुनःस्थापनासँग जोडेर अघि बढाइने जनाएको छ। सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाइने तथा अवैध ओसारपसार नियन्त्रणका लागि विशेष रणनीति अवलम्बन गरिने पनि उल्लेख गरिएको छ।
अभियानलाई सफल बनाउन स्थानीय तह, विद्यालय, अभिभावक, युवा समूह तथा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन्।



