झापा : वैदेशिक रोजगारीबाट फर्किएका, आर्थिक रूपमा विपन्न तथा स्वदेशमै स्वरोजगार बन्न इच्छुक १५ जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवसायिक सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ।
शिवसताक्षी नगरपालिकाको कार्यालय परिसरमा मंगलबार कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत सञ्चालित तेस्रो वर्षको जीविकोपार्जन सहयोग कार्यक्रममार्फत प्रतिलाभग्राही ५० हजार रुपैयाँ बराबरका व्यवसायिक सामग्री उपलब्ध गराइएको हो।
उद्यमशीलताको विकास गर्दै युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा नगरपालिकाका वडा नम्बर १, ४, ७, ८ र ११ बाट छनोट भएका प्रत्येक वडाका तीनरतीन जना गरी कुल १५ जना लाभग्राहीलाई सामग्री हस्तान्तरण गरिएको परियोजनाका परिचालक चिरञ्जिवी लुइँटेलले जानकारी दिनुभयो।
कार्यक्रममा नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय स्तरमै साना व्यवसाय सञ्चालन गरी आयआर्जन वृद्धि गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताउनुभयो। उहाँले प्रदान गरिएका सामग्रीको सदुपयोग गर्दै व्यवसायलाई निरन्तरता दिन र आयआर्जन वृद्धि गर्न लाभग्राहीलाई सुझाव दिनुभयो।
कार्यक्रममा वडा नम्बर १ का लाभग्राहीलाई निर्माण (कन्सट्रक्सन) सम्बन्धी उपकरण, चिया पसल सञ्चालनका लागि आवश्यक सामग्री तथा चटपटे, चाउमिन र मःम पसल सञ्चालनका लागि ठेलागाडा, ग्यास सिलिन्डरलगायत आवश्यक सामग्री हस्तान्तरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
त्यसैगरी वडा नम्बर ४ का दुई जनालाई चटपटे व्यवसाय सञ्चालनका लागि ठेलागाडा, ग्यास सिलिन्डर र भट्टी चुलो तथा एक जनालाई किराना पसल सञ्चालनका लागि आवश्यक सामग्री प्रदान गरिएको छ। वडा नम्बर ७ का दुई जनालाई उन्नत जातका गाई तथा एक जनालाई साइकल तथा मोटरसाइकल मर्मतका लागि आवश्यक औजार र स्पेयर्स पार्ट्स उपलब्ध गराइएको छ।
वडा नम्बर ८ का एक जनालाई आल्मुनियम फेब्रिकेसनका लागि आवश्यक सम्पूर्ण उपकरण, एक जनालाई तरकारी तथा किराना पसल सञ्चालनका लागि खाट, क्रेट, डिजिटल तौल मेसिन तथा अन्य आवश्यक सामग्री, र अर्का एक जनालाई व्यवस्थित मासु पसल ९टहरा० निर्माण गरी हस्तान्तरण गरिएको छ।
यस्तै वडा नम्बर ११ का दुई जनालाई उन्नत जातका गाई तथा एक जनालाई व्यावसायिक रूपमा रुख कटानका लागि चेन मेसिन प्रदान गरिएको कारितास नेपालले जनाएको छ।
परियोजनाले यस सहयोगबाट वैदेशिक रोजगारीबाट फर्किएका तथा आर्थिक रूपमा कमजोर युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने, उद्यमशीलता प्रवर्द्धन हुने तथा आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
कारितास नेपाल प्रादेशिक कार्यालयका प्रमुख शंकरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, सम्बन्धित वडाका वडाध्यक्षहरू तथा परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




