बिर्तामोड, १७ असार : तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुलले क्याम्ब्रिज इङ्ग्लिस एजुकेशनल पार्टनर (CEEP) को औपचारिक मान्यता प्राप्त गरेको छ।
आज आयोजित ‘इन्भेष्टिचर समारोह’को आयोजना गर्दै विद्यालयले क्याम्ब्रिज इङ्ग्लिस र 3DI, न्यूजिल्याण्डसँग अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यसम्बन्धी दुई समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको हो। एमओयूमा LCCI GQ का सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. रोशन राठी र विद्यालयकी कार्यकारी निर्देशक डा. अञ्जली कार्कीले हस्ताक्षर गर्नु भयो । क्याम्ब्रिज इङ्ग्लिससँग भएको सम्झौताले विद्यार्थीको अङ्ग्रेजी भाषा दक्षता र अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षामा पहुँच विस्तार गर्ने विद्यालयले जनाएको छ।
त्यसैगरी 3DI, न्यूजिल्याण्डसँगको सहकार्यले विद्यालयमा डिजिटल प्रविधि र भविष्यमुखी शिक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूले भर्चुअल रियालिटी (VR), थ्रीडी प्रिन्टिङ, ड्रोन, रोबोटिक्स तथा वेब–एप विकास सम्बन्धी परियोजनाहरू पनि प्रदर्शन गरेका थिए।
कार्यक्रममा शैक्षिक निर्देशक डा. भिक्टर इग्नेसियस जोसेफलाई CEEP को आधिकारिक प्लाक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित विद्यालय परिषद्–२०८३ का पदाधिकारीहरूको शपथग्रहण तथा पदस्थापन गरिएको थियो भने विभागीय प्रमुख शिक्षकहरूलाई सम्मान गरिएको छ ।
बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन्द भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशेष अतिथि सशस्त्र प्रहरी बल झापाका प्रहरी उपरीक्षक एसपी अम्बिका प्रसाद जोशी, बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायत विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।विद्यालयले आगामी दिनमा पनि अन्तराष्ट्रियस्तरको गुणस्तरीय, नवप्रवर्तनमुखी तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।





