झापा, २४ असार : जिल्ला प्रहरी कार्यालय झापाले गृहमन्त्री सुदन गुरुङको काँकडभिट्टा नाका निरीक्षणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीसहित सुरक्षा अधिकारीहरूको मोबाइल नियन्त्रणमा लिइएको तथा तस्करीमा संलग्नताका कारण उनीहरूलाई निगरानीमा राखिएको भन्ने समाचार पूर्ण रूपमा भ्रामक र निराधार रहेको जनाएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय झापाले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित एवं प्रसारित उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरीले असार २२ गते गृहमन्त्री गुरुङले काँकडभिट्टा नाकाको निरीक्षण गर्ने क्रममा सुरक्षा अधिकारीहरूको मोबाइल नियन्त्रणमा लिइएको वा तस्करीसँग सम्बन्धित विषयमा निगरानीमा राखिएको भन्ने दाबी सत्य नभएको स्पष्ट पारेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले यस्ता समाचारहरू पुष्टि नभएका, आधारहीन र भ्रामक रहेको उल्लेख गर्दै तथ्यहीन सूचना प्रकाशन, प्रसारण वा सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न सबै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
प्रहरीले समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्नसमेत अनुरोध गरेको छ।
विज्ञप्ति पढ्नुहोस्




