इलाम, २९ असार । दुई दिनयता निरन्तर परेको वर्षाका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क विच्छेद भएको छ।
मेची राजमार्गअन्तर्गत माइखोला स्थित राजदुवाली सडक खण्डमा चार दिनदेखि ठुला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबार मोटरसाइकललाई आवतजावत गर्न दिइए पनि सोमबार सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ।
राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा आइतबारदेखि बाढी बगेपछि उक्त सडक पनि अवरुद्ध भएको छ।
यस्तै, इलाम–झापा जोड्ने केचना–कञ्चनजङ्घा फास्ट ट्र्याकअन्तर्गत पुवा खोलाको डाइभर्सनमाथिबाट बाढी बगिरहेकाले यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।
सडक डिभिजन कार्यालय इलामका अनुसार पुवा खोला र जोगमाई खोलामा जडान गरिने भनिएको बेलीब्रिज भारतबाट हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन।
झापाबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङ जाने सबै सडक बन्द भएपछि माइखोलापारि ठूलो संख्यामा मालवाहक सवारीसाधन रोकिएका छन्। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्री बोकेका ट्रकहरू अलपत्र परेका छन्।
उहाँले भन्नुभयो, “सामग्री बोकेका ट्रकहरू खोलापारि रोकिएका छन्। अर्को सवारीमा सारेर ल्याउने अवस्था पनि छैन। पाल चुहिँदा खाद्यान्न, दैनिक उपभोग्य तथा निर्माण सामग्रीसमेत बिग्रने जोखिम बढेको छ। अब इलामका लागि तमोर करिडोर हुँदै महँगो लागतमा सामग्री ल्याउनुको विकल्प देखिएको छैन।”
सडकहरू पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक काममा हिँडेका यात्रु पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्।



