बिर्तामोड, ९ साउन : बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विद्यमान चुनौतीका बाबजुद शुद्ध खानेपानीको पहुँच विस्तार र सेवा गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाले पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा पुराना पाइपलाइन, भल्भ तथा चेम्बरमा क्षति पुगेका कारण बिर्तामोड क्षेत्रमा नियमित खानेपानी आपूर्तिमा समस्या देखिएको जानकारी दिएको हो। सडक निर्माणका कारण वितरण प्रणाली प्रभावित हुँदा केही स्थानमा उपभोक्ताले अस्थायी रूपमा समस्या भोग्नुपरेको संस्थाले जनाएको छ।
संस्थाले वितरण प्रणालीलाई थप स्मार्ट, प्रभावकारी र उपभोक्तामैत्री बनाउन आधुनिक प्रविधिको प्रयोग विस्तार गरिएको जनाएको छ। संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले करिब ३० वर्षअघि बिछ्याइएका पाइपलाइन अहिले सडकको बीचभाग र गहिराइमा परेकाले मर्मत तथा नयाँ धारा जडान गर्न कठिनाइ भइरहेको बताउनु भयो ।
बढ्दो जनसङ्ख्या र खानेपानीको मागलाई ध्यानमा राख्दै बसपार्क क्षेत्रमा नयाँ डिप बोरिङ जडानको काम अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ। साथै, चारपाने चोकदेखि दक्षिणतर्फ बारदशी र हल्दिबारी सीमासम्म नयाँ आयोजना विस्तार गरी सेवा पुर्याउने तयारी पनि भइरहेको जनाएको छ।
संस्थाले बिर्तामोड नगरपालिकाभित्र सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालन हुने सबै खानेपानी आयोजनालाई क्रमशः एकीकृत सामुदायिक खानेपानी प्रणालीमा आबद्ध गर्ने नीति लिएको जनाएको छ। पानी उत्पादन वृद्धि गर्न थप स्रोतको खोजी तथा नयाँ पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको अध्यक्ष बाँस्तोलाले बताउनु भयो ।
हाल संस्थाले बिर्तामोड नगरपालिकाका १० वटै वडा तथा अर्जुनधारा नगरपालिकाका वडा नं. ५, ६ र ११ का केही क्षेत्रमा सेवा प्रदान गरिरहेको छ। करिब ५७५ किलोमिटर पाइपलाइन र ११ हजार धारामार्फत करिब एक लाख उपभोक्ताले खानेपानी सेवा लिइरहेका छन्।
अध्यक्ष बाँस्तोलाका अनुसार चारआली–देवनियापुरदेखि लक्ष्मीपुर–घाग्रापुलसम्मको एसियन हाइवे विस्तारका क्रममा पुराना पाइपलाइनमा ठूलो क्षति पुगेको छ। त्यसको विकल्पस्वरूप कालिका कन्स्ट्रक्सन प्रा.लिमार्फत नयाँ पाइपलाइन विस्तारको काम भइरहेको उहाँलो जानकारी दिनुभयो ।
संस्थाले आगामी आर्थिक वर्षभित्र डिप बोरिङ गरिएको स्थानमा थप फिल्टर प्लान्ट जडान, २०० केभीएको ट्रान्सफर्मर स्थापना तथा पानी उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।



