बिर्तामोड, २७ साउन : सडक दुर्घटना न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत झापाको हल्दिबारी गाउँपालिका–१, गोलधापमा जेब्रा क्रसिङ निर्माण गरिएको छ।
चेसुङ निर्माण सेवा प्रा.लिका सञ्चालक विष्णु सेलिङ र न्यू पाथीभरा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक दिनेश कार्कीको सहयोगमा जेब्रा क्रसिङ निर्माण गरिएको हो।
जेब्रा क्रसिङ नहुँदा विद्यार्थीलाई सडक पार गर्न असहज हुने भएकाले सम्भावित दुर्घटना रोक्न जनजागृति माध्यमिक विद्यालयअगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण गरिएको ट्राफिक प्रहरी सहायक हवलदार पूजा प्रसाईंले जानकारी दिनुभयो।
जेब्रा क्रसिङ निर्माणस्थलमा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनसहित जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी तथा प्रहरीको उपस्थिति रहेको थियो।
यसअघि पनि ट्राफिक प्रहरीको सक्रियतामा बिर्तामोड नगरपालिका–१० मा विष्णुभगवती स्मार्ट इङ्लिस स्कुल, विराट आधारभूत विद्यालय, मनकामना चोक र तारानाथ चोकमा गरी चार स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको थियो।



