झापा, २८ भदौ : बिर्तामोड नगरपालिका–५ स्थित वुद्दनगरमा स्वास्थ्य उपचार तथा परीक्षणको नाममा सर्वसाधारणलाई भ्रममा पारेर फुड सप्लिमेन्ट्स बिक्री वितरण गरिरहेको आरोपमा बुधबार पक्राउ परेका ४१ जना मध्ये ३९ छुटेका छन् । उनीहरुलाई आवश्यक सोधपुछ पछि छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बाँकी २ जना आफूलाई कम्पनीको चिकित्सक बताउने इलाम रोङ गाउँपालिका–३ का ४९ वर्षीय पिताम्बर कट्टेल र इलाम देउमाई नगरपालिका–९ का २८ वर्षीय सुजन लिम्बुलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले एक घरको दोस्रो फ्ल्याटमा छापा मारेको थियो । उक्त फ्ल्याट बाहिर ‘अर्जुनधारा मल्टिप्रपोज’ को बोर्ड राखिएको भए पनि भित्र ग्लोवल ओरियन्स नेपाल नामक कम्पनी सञ्चालनमा रहेको पाइएको प्रहरीले जनाएको छ ।
कम्पनीका कर्मचारीहरूले विभिन्न परिचयपत्र प्रयोग गरी युवायुवतीहरूले सर्वसाधारलाई प्रलोभनमा पारेर ‘होल बढी चेकअप ’ का लागि ल्याउने प्रशिक्षण दिने, घर–घरमा पुगेर स्वास्थ्य समस्या पहिचान गर्ने नाममा रकम असुल्ने र विभिन्न फुड सप्लिमेन्ट्स बिक्री तथा सिफारिस गर्ने गरेको पाइएको छ ।
कार्यालयबाट प्रहरीले ३ थान ल्यापटप, ३९ थान मोबाइल, १ थान पेनड्राइभ, २ थान मेमोरी कार्ड, रु. ८६ हजार ७ सय ५५ रुपैयाँ नगद, कम्पनीका अभिलेख तथा कागजातहरूका साथै ३१ किसिमका औषधिजन्य सामानहरू बरामद गरेको झापा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





