बिर्तामोड, २१ भदौः मैनाली समाज नेपाल, झापा जिल्ला कार्यसमितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न बृहत रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको छ। हाल देखा परेको रगतको अभावलाई ध्यानमा राख्दै समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सम्पन्न गरेको हो।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्य तथा बिर्तामोड चिल्ड्रेन हस्पिटलको विशेष सहयोग रहेको थियो। कार्यक्रममा समाजका सदस्यहरू, स्थानीय सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका स्वागत मन्तव्य व्यक्त गर्दै स्वास्थ्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक डा. लक्ष्मीप्रसाद मैनालीले रक्तदानको महत्त्व र औचित्यमाथि प्रकाश पार्नुभयो। उहाँले रक्तदान मानवीय सेवासँग जोडिएको पवित्र कार्य भएकाले समाजमा नियमित रक्तदानको संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो। रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने मुख्य उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ढकालले संकलित रगतले बिरामीको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताउँदै यस्ता जीवनदायी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
मैनाली समाज नेपाल झापाकी अध्यक्ष रेनुका मैनालीको अध्यक्षता तथा सचिव खगेन्द्रप्रसाद मैनालीको सञ्चालनमा सम्पन्न सो कार्यक्रम पछि पनि समाजले आगामी दिनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न परोपकारी कार्यहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ।




