बिर्तामोड, ११ असोज : झापाको बिर्तामोडस्थित चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित हुनुभएको छ।
भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो। अध्यक्ष पदका लागि खतिवडासँग भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीले प्रतिस्पर्धा गर्नुभएको थियो।
सहारा नेपालको निर्वाचनमा तीनवटा प्यानल प्रतिस्पर्धामा रहेका थिए। तीमध्ये खतिवडाको प्यानल निर्वाचित भएको हो।
अध्यक्षमा निर्वाचित खतिवडाले २१ हजार ९८४ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी उपेन्द्रप्रसाद ओलीले ७ हजार ३९७ मत तथा भरतकुमार गिरीले ४ हजार २६३ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, संस्थाको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल १८ हजार ९३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यस पदमा प्रतिस्पर्धा गर्नुभएका टेकनाथ खनाल (टंक) ले ४ हजार ७९९, हेमराज गिरीले ४ हजार ९५ र ज्ञाननाथ मैनालीले ५ हजार ६२७ मत प्राप्त गर्नुभएको छ।
महिला उपाध्यक्षमा पार्वती भारती गिरी २० हजार ८१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी खिनमाया बस्नेतले ५ हजार ५१०, गृहमेश्वरी बुढाथोकीले ३ हजार ५८६ र हरिमाया सिग्देलले ३ हजार ८७१ मत प्राप्त गर्नुभएको छ।
कोषाध्यक्ष पदमा लक्ष्मीप्रसाद आचार्य १९ हजार ५६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी भीमबहादुर गिरीले ७ हजार ४३ र भोला धितालले ६ हजार २४२ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी, खुला सदस्यतर्फ नारायणप्रसाद गिरीले ११ हजार ८९६, मदनराज कटुवालले १२ हजार ८२७ र रमेश सेढाईंले ९ हजार ४२५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।
महिला सदस्यतर्फ राधिका चुडाल (हुमागाईं) १२ हजार ४२ र शिखा खड्का १३ हजार ४५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।
यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा डम्बरबहादुर देउजा १९ हजार ५७० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी शंकर सुवेदीले ११ हजार ६५९ मत प्राप्त गर्नुभएको छ।
लेखा सुपरिवेक्षण समितिको सदस्यमा बविता घिमिरे १७ हजार २२७ र सुनील कार्की १५ हजार ४८८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।
मतगणना सम्पन्न भएपछि चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा अन्तिम परिणाम घोषणा तथा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।




