झापा, २९ असोज : जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट पीडित ६ वर्षीया बालिकाको उपचारका लागि आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ।
अर्जुनधारा नगरपालिका–१ निवासी देवेन्द्र बुर्जा मगरकी ६ वर्षीया छोरी एलिना बुर्जा मगरको उपचारका लागि सहयोगको अपिल गरिएको हो। गएको असोज ५ गतेदेखि एलिनामा उच्च ज्वरो देखिएको थियो। बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा जेई संक्रमण पुष्टि भएपछि नौ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि परिवारले उनलाई भारतको सिलिगुडी लगेका हुन्।
सिलिगुडीस्थित शान्ति नर्सिङ होममा भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी एलिनाको स्वास्थ्यमा केही सुधार देखिए पनि औषधोपचारका लागि थप रकम अभाव भएपछि विपन्न परिवारले सहयोग मागेको अर्जुनधारा नगरपालिका–१ का वडाध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिनुभयो।
एलिनाका काका टेकन बुर्जा मगरका अनुसार अहिलेसम्म उपचारमा ३० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। अहिले पनि दैनिक ७० देखि ८० हजार भारतीय रुपैयाँ खर्च हुँदै आएको छ। लामो समयसम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक अभावका कारण सबैसँग सहयोगको याचना गर्न बाध्य भएको उहाँले बताउनुभयो।
यसैबीच, वडामा आयोजित सर्वपक्षीय भेलाले एलिनाको उपचारका लागि सहयोग जुटाउने निर्णय गरेको छ। सोही निर्णयअनुसार ‘एलिना बुर्जा मगर बचाऊ अभियान’ सञ्चालनमा ल्याइएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
उहाँका अनुसार वडा सदस्य मदन लिमेल मगरको संयोजकत्वमा विजय सेन्दाङ, पदमबहादुर निरौला, सुवास राई, तिवेन्द्र काफ्ले, पदम गोले, विक्रम गोले, पवन खनाल, विशाल खड्का, कुमार बस्नेत, विकास लिम्बू, सन्त मगर र ढिंगबहादुर दर्लामी मगर सदस्य रहेको समिति गठन गरिएको छ।
एलिनाको उपचारका लागि काकी गीतामाया सोराली मगरको नाममा नेपाल एसबीआई बैंकमा रहेको खाता नम्बर १८२१५२४१४१७३९८ मा सहयोग रकम जम्मा गरिदिन अभियान समिति र परिवारले देश–विदेशमा रहनुभएका सबैसँग आग्रह गरेका छन्।



