शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

सामुदायिक विद्यालयका विद्यार्थीहरुद्वारा बिर्तामोडमा संसदीय अभ्यास

बुधवार, कार्तिक १५, २०८०

बिर्तामोड । झापाका २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले संसदीय अभ्यास गरिरहेका छन् । उनीहरुले चार दिने नमूना युवा संसद प्रशिक्षण मार्फत संसदीय अभ्यास गरिरहेको आयोजक संस्थाले जनाएको छ ।

संघीय संसद सचिवालयले वार्षिक कार्यक्रम अन्तर्गत झापाका ६० जना विद्यार्थीलाई संसदीय अभ्यास गराइरहेको जनाएको छ ।

संसद के हो ? संसदीय काम कारबाही, कानुन निर्माण प्रक्रिया बारे नमूना युवा संसद् मार्फत प्रशिक्षण प्रदान गरिरहेको संघीय संसद सचिवालयको सहसचिव बबिता मिश्रले जानकारी दिनुभयो ।यूएनडीपी र सहारा नेपालको प्राविधिक सहयोगमा बिर्तामोडस्थित सिद्धार्थ होटलमा भइरहेको कार्यक्रममा विद्यार्थीहरुले सक्रिय सहभागिता जनाइरहेका छन् । उनीहरुलाई संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सहसचिव बबिता मिश्र, विषय विज्ञहरु विरेन्द्र बहादुर कार्की र रमेश पौडेलले सहजीकरण गरिरहनु भएको छ ।

कार्तिक १४–१७ सम्म सञ्चालन हुने नमूना युवा संसदमा अन्तिम दिन संसद् सञ्चालनको प्रस्तुति रहनेछ । ४ दिने सिकाईपछि अन्तिम दिन विद्यार्थीहरु सांसद, प्रधानमन्त्री, मन्त्रीहरुको भूमिकामा रहेर संसद सञ्चालनको प्रस्तुतिकरण गर्ने सहसचिव मिश्रले जानकारी दिनुभयो।विद्यार्थीले संसदको प्रस्तुति देखाउने कार्तिक १७ गतेका दिन सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, ६ दलका प्रमुख सचेतक, सचेतकहरु, राजनीतिक दलका नेताहरु, स्थानीय तहका मेयर,उपमेयर, अध्यक्ष, उपाध्यक्षहरु, कानुन व्यवसायीहरु, पत्रकार, बुद्धिजीवी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु सहभागी हुने नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले जानकारी दिनु भयो ।

१८ गते सोही होटलमा प्रभावकारी संसद सञ्चालन सम्बन्धी सुनुवाई कार्यक्रम हुने बताइएको छ । उक्त कार्यक्रममा विद्यार्थी बाहेक सबैको सहभागिता हुनेछ ।

सम्बन्धित खबर