शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड उद्योग वाणिज्य संघको मतदाता हुन नगरमा व्यवसाय दर्ता, नविकरण अनिवार्य

शनिवार, कार्तिक २५, २०८०

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन नजिक आएको छ । भर्खरै साधारणसभा सम्पन्न गरेको वाणिज्य संघमा उम्मेदवारहरुको चर्चा नै सुरु भइसकेको छ । बिर्तामोडमा बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र महासचिव अर्जुन कुमार मैनाली अध्यक्षको उम्मेदवार बन्ने चर्चा भइरहेको छ । बजारमा अध्यक्ष प्रकाश शिवाकोटीले समेत दोहोर्याउन सक्ने आकलन गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आगामी फागुन १४ गते निर्वाचनको मिति तोकिएको छ । निर्वाचनको मिति नजिक आएसँगै विभिन्न पद्का लागि उम्मेदवारहरुको चर्चा शुरु भएको हो ।

आउँदो निर्वाचनमा बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकाको आर्थिक ऐन पालना गर्नुपर्ने भएको छ । बिर्तामोड नगरपालिकाको राजपत्रमा प्रकाशित आर्थिक ऐन (पहिलो संशोधन–२०८०) मा नगरपालिकाभित्रका व्यवसायिक संघ संस्थाको निर्वाचनको मतदाता सूचिमा समावेश हुन अनिवार्य रुपमा नगरपालिकाको व्यवसायिक प्रमाणपत्र लिई अध्यावधिक समेत भएको हुनुपर्ने उल्लेख छ । नगरपालिकाको व्यवसायिक प्रमाणपत्र नलिएका मतदाता सूचिबाट निर्वाचित व्यवसायिक संघ संस्थाको कार्यसमितिलाई नगरपालिकाले मान्यता नदिने उक्त आर्थिक ऐनमा स्पष्ट पारिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा पुस्तिकामा समेत यस विषयलाई समेटेको छ ।बिर्तामोड नगरपालिकाको राजश्व शाखामा चालु आर्थिक वर्षमा ४३४ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । यस्तै, २ हजार २ सय ३० वटा व्यवसायिक फर्म नविकरण भएको बुझिएको छ । संघको अघिल्लो निर्वाचनमा ४ हजार २ सय व्यवसायिले निर्वाचनमा सहभागिता जनाएका थिए ।

आर्थिक ऐनमा व्यवस्था गरिएको विषय नगरपालिकाले संघलाई गत असोज १४ गते औपचारिक पत्र मार्फत जानकारी गराइसकेको छ । सो पत्रमा उल्लेखित विषय संघको साधारणसभामा प्रवेश गरेको थियो । साधारणसभाले नगरसँग समन्वय गरेर जाने निर्णय गरिसकेको छ ।

सम्बन्धित खबर