शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

कमल ६ झापाका वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ

शनिवार, मंसिर २, २०८०

झापा । कमल गाउँपालिका –६ स्थायी घर भई पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् ।

कमल ६ का वडाध्यक्ष भट्टराईलाई हिजो बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफै आएको दमक प्रहरीले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको १८ दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यतिका दिनसम्म उनी राजनीतिक संरक्षणमा रहेको बताइएको छ ।

एउटै कसुरमा कार्कीकी श्रीमती चाहना पोख्रेल र ससुरा पुण्यप्रसाद पोख्रेललाई प्रहरीले घटना भएको भोलिपल्ट पक्राउ गरेको थियो ।

गत ६ कात्तिक गते अर्थात् महानवमीको दिन मृतक कार्की र उनकी श्रीमतीबीच घरायसी विवाद भइरहेको बेला वडाध्यक्ष भट्टराई पुगेका थिए । सो क्रममा भट्टराईले कार्कीमाथि हातपातसमेत गरेका थिए ।

आफूमाथि वडाध्यक्ष भट्टराईले गरेको कुटपिटको घटनालाई लिएर मृतक कार्की दसैँको टिकाको दिन अर्थात् कात्तिक ७ गते किटानी जाहेरीसहित इलाका प्रहरी कार्यालय दमकमा पुगेका थिए । तर, त्यस जाहेरीलाई प्रहरीले सामान्य रुपमा लिएर आवश्यक कारबाही अघि नबढाइदिँदा कार्की न्यायको लागि हारगुहार माग्दै हिँडेका थिए । उनले पारिवारिक मामिलामा वडाध्यक्ष भट्टराईले एकपक्षीय दबाब र हस्तक्षेप दिएको गुनासो गरेका थिए । त्यस क्रममा कात्तिक १२ गते साँझ कार्कीले घरमै झुन्डिएर आत्महत्या गरेका थिए ।

कार्कीलाई श्रीमती , ससुरा र वडाध्यक्ष भट्टराईले आत्महत्या गर्न लगाएको आफन्तले आरोप लगाएका छन् ।

सम्बन्धित खबर