शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाको अर्जुनधारा १ मा रहेको श्री वेद वेदाङ्ग संस्कृत पाठशालाको नयाँ भवन प्रयोग विहीन

शुक्रवार, मंसिर ८, २०८०

बिर्तामोड । झापाको अर्जुनधारा १मा रहेको श्री वेद वेदाङ्ग संस्कृत पाठशाला (शंकरचार्य पीठ) को नयाँ भवन प्रयोग विहीन बनेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बनेको ४ कोठे २ तले विद्यालय भवन प्रयोगमा आउन सकेको छैन । सो भवनको समुद्घाटन भने भइसकेको छ ।

तत्कालिन उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्दनेले ०७९ माघ ९ गते उक्त विद्यालय भवनको समुद्घाटन गरेका थिए । विद्यालय भवनको अभाव भएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ३५ लाख लगानीमा भवन निर्माण गरिएको थियो । सो भवनको बजेट ३५ लाख भनिए पनि ३२ लाख मात्रै उपलब्ध भएको व्यवस्थापन समितिका सदस्य विष्णु खतिवडाले जानकारी दिनुभयो।

विद्यालय भवन समुद्घाटन भएको १ वर्ष पुरा हुन लागेको छ । तर, सो भवन परिसर अहिले पनि झारपात, घारीमा घेरिएको छ । भवन परिसर पनि अस्तव्यस्त देखिन्छ । भवन माकुरोको जालोले भवन ढाकिएको छ ।
भवनको समुद्घाटन भइसके पनि विद्युतीय काम सकिएको छैन । शौचालय निर्माणको काम पनि बाँकी छ । भवन बाहिरबाट सकिएको देखिए पनि शौचालय बनाइएको छैन, विद्युतको काम पनि बाँकी नै छ ।

८४ जना विद्यार्थी रहेको सो विद्यालयमा वेद, रुद्री, चण्डी, व्याकरण, पुराण, इतिहास पठनपाठन हुने गरेको छ । वैदिक ऋषि परम्पराबाट पठनपाठन हुने गरेको सदस्य खतिवडाले जानकारी दिनुभयो ।

विद्यालयमा नेपालका विभिन्न जिल्ला र भारतको आसाम, मनिपुरसम्मका विद्यार्थी वैदिक ज्ञान हासिल गरिरहेका छन् ।विद्यालयका प्राचार्य टेकेन्द्र काफ्लेले स्रोत व्यवस्थापन मिलाएर छिट्टै भवन निर्माण पुरा गरि प्रयोगमा ल्याउने जानकारी दिनुभयो । उहांले भवन अभाव भएकै कारण राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत नयाँ भवन निर्माण गरिएको बताउनु भयो ।

सम्बन्धित खबर