शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

‘आफ्नै गाउँको आफैँले हुर्काएको टुहुरो केटो देशको प्रधानमन्त्री हुनुभयो :तिलबहादुर गहतराज

शुक्रवार, मंसिर २९, २०८०

तेह्रथुम । ‘आफ्नै गाउँको आफैँले हुर्काएको टुहुरो केटो देशको प्रधानमन्त्री हुनुभयो, यत्रो ठुलो पाटीको अध्यक्ष हुनुहुन्छ, हामीलाई जति खुसी अरू कसलाई छ र’, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको आठराई सङ्क्रान्ति पुग्दा स्थानीय तिलबहादुर गहतराज कम्ता खुसी हुनुभएको थिएन । 

१९९९ सालमा जन्मनुभएका गहतराज एमाले अध्यक्ष भन्दा आठ/नौ वर्ष जेठो हुनुहुँदो रहेछ । केपी ओलीको नजिकैको छिमेकी । ‘उहाँको घर ऊ यो, मेरो घर ऊ त्यो’, उहाँले आफ्नो र केपी ओलीको जन्मघर देखाउँदै भन्नुभयो ।

गहतराजले केपी ओलीको बाल्यकाल मात्र सम्झनु भएन, आफूले बाल्यकालमा गरेको सहयोग पनि सम्झनुभयो । ‘६ महिनामा टुहुरा भएका, आमा बितेर, गिर खेलियो, पिठ्युँमा बोकेर स्कुल लगियो, स्कुलबाट लिएर आइयो, मेरी माहिली बहिनी जन्मिएपछि मेरो आमाको दूध खुवाउन पनि लगियो, ६ महिनामा आमा बितिजानुभयो, त्यसो गरी हुर्काइयो’, उहाँले भन्नुभयो । 

त्यसरी हुर्काएको भाइ अहिले यस्तो भएको देख्दा एकदमै खुसी लागेको गहतराजले बताउनुभयो । ‘उहाँलाई धेरै धेरै आसिरवाद छ, राम्रो काम गर्नुभएको छ, राम्रो लागिरहेको छ’, उहाँले भन्नुभयो । 

गहतराजले आफूलाई अझै १०/१५ वर्ष बाँचेर केपी ओलीले गरेको विकासको काम हेर्न रहर भएको बताउनुभयो । ‘अब १०/१५ वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने ध्यान छ’, गहतराजले भन्नुभयो । 

केपी ओलीले गाउँमा गरेको विकासबाट पनि उहाँ निक्कै खुसी हुनुहुँदो रहेछ । ‘रोड ल्याउनु हुन्छ, स्कुल बनाइदिनुभयो अब हस्पिटल बनाइदिनुहुन्छ भन्ने आशा छ’, उहाँले भन्नुभयो । 

सम्बन्धित खबर