शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

यस वर्षको हिउँदमा जाडो कम हुने अनुमान

मङ्गलवार, मंसिर २७, २०७९

काठमाण्डाै  ।  यस वर्षको हिउँदमा देशभर अधिकतम तापक्रम सरदरभन्दा बढी हुने र देशका धेरैजसाे ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि ठाउँकाे लामो समय (१९९१ देखि २०२०) को ३३ दशमलव ३ देखि ६६ दशमलव ६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ ।

यसैगरी सरदरभन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३ दशमलव ३ प्रतिशतभन्दा कम र बढी भन्नाले ६६ दशमलव ६ प्रतिशतभन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्युठानबाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, बाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बुलगायतका उत्तरी जिल्लामा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भू–भागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा माैसम विज्ञान विभागले हिउँद अवधि (मङ्सिर १५ देखि फागुन १६ गते) को वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर