शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

हल्दिबारीमा भेटियो पुरातात्विक महत्त्वका सामग्री

सोमवार, पौष २, २०८०

झापा,पुस ०२ । हल्दिबारी गाउँपालिका-४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् ।

स्थानीय मञ्जु बरालका अनुसार उक्त इनार आठ फिट गहिरोसम्म उधिनेर फेरि पुरिएको छ । बरालकै खेतबारीमा अहिले गाई, कुखुरा र मान्छेको पाइला अङ्कित अनौठा चारपाटे इँटा धेरै भेटिएका छन् । च्याङ्ग्राबन्ध गाउँमा विराट राजाको दरबारको भग्नावशेष हुनसक्ने स्थानीयवासीको अनुमान छ ।

दक्षिण झापामा किच्चकबधस्थल र विराटनगरमा विराट राजाको दरबार रहेको पहिचान भइसकेकाले मध्यभागमा पर्ने यो स्थान विराट राज्यकालीन हुनसक्ने नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले बताउनुभयो ।

सापकोटाले च्याङ्ग्राबन्ध गाउँका धेरै खेतबारीमा २०४२ देखि नै पुराना इँटा र भाँडाकुँडा भेटिएको जनाउँदै पुरातत्व विभाग र इतिहासका अन्वेषकहरुले चासो राख्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार किच्चकबध क्षेत्र नजिकै भएकाले ती सामग्री र भग्नावशेष विराट राज्यकालीन हुनसक्ने सम्भावना छ ।

हल्दिबारीबाट १७ किलोमिटर सडक दूरीमा ऐतिहासिक किच्चकबधस्थल रहेको छ । विराट राज्यकालीन किच्चकलाई बध गरिएको स्थानको रुपमा किच्चकबध स्थललाई मानिएको छ ।

सम्बन्धित खबर