आइतवार, मंसिर ९, २०८१
Nayapaper | अनलाइन पत्रिका

झापाको विभिन्न स्थानमा भेटिन थाले दुर्लभ अजिङ्गर

मङ्गलवार, पौष ३, २०८०

झापा, ३ पुस । घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो । काउली बारीमा दिउँसो देखापरेको सो सर्प अजिङ्गर रहेछ । स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएर अजिङ्गर डिभिजन वन कार्यालय झापामा बुझाएको थियो । अजिङ्गर भेटिएको यो स्थान मेची नदी पूर्व नेपालको सीमान्त गाउँ पर्दछ । यति टाढा गाउँमा अजिङ्गर कसरी पुग्यो भनेर बन कर्मचारी पनि अचम्मित छन् ।

त्यसैगरी, भद्रपुर–५ स्थित लक्ष्मण प्रधानको आँगनमा कदमको रूखमा बेरिएर बसेको ठूलो आकारको अजिङ्गर फेला परेपछि गाउँ त्रसित बनेको थियो । दश केजी तौलको सो अजिङ्गरलाई वन कर्मचारी र प्रहरीले उद्धार गरेर चारआली जङ्गलमा छाडिदिएका थिए । अजिङ्गर दुर्लभ जातको ‘पाइथन’ भएको पत्ता लागेको थियो ।

अर्जुनधारा, हल्दिबारी, कचनकबल, बाह्रदशीलगायत पालिकामा मानिसका खेतबारी र साना खोल्साहरुमा अजिङ्गर भेटिने गरेका छन् । यी क्षेत्र झापाको जलथल जङ्गल वरिपरि पर्दछ । जलथल जङ्गल अजिङ्गरको मुख्य बासस्थान मानिएको छ ।

जिल्लाका विभिन्न पालिकामा भेटिएका अजिङ्गरको उद्धार गरी डिभिजन वन कार्यालय झापाको उद्धार टोलीले प्राकृतिक बासस्थान स्थानीय सामुदायिक वनमा सुरक्षित लगेर छाड्ने गरेको जनाएको छ । वनको उद्धार टोलीले चालु आर्थिक वर्षको पाँच महिनामात्र छवटा अजिङ्गरको उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडेको जनाएको छ । गत आर्थिक वर्ष २०७९ः८० मा ११ वटा विभिन्न जातका अजिङ्गर मानिसहरुको घरको आँगन, खेत र सडकबाट उद्धार गरिएको डिभिजन वन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार उद्धार गरिएका सबै अजिङ्गरलाई प्राकृतिक बासस्थानमा छाडिदिने गरिएको छ । उहाँले पाँच केजीदेखि १६ केजीसम्मको अजिङ्गर फेला परिरहेको जानकारी दिनुभयो । “यो संरक्षित वन्यजस्तुहरु मध्येको घस्रने जन्तु हो”, उहाँले भन्नुभयो, “मानिसहरु सचेत छन् दुर्लभ जन्तु भन्ने ज्ञान छ । फेला पर्ने बित्तिकै खबर गर्छन् । हामी उद्धार गरिरहेका छौँ ।”

जीव वैज्ञानिक तथा हाल प्रतिनिधिसभा सदस्य डा के. आर. खम्बूले जिल्लामा पाइने अजिङ्गरहरु दुर्लभ जातिको रहेको बताउनुभयो । उहाँले चिसो मौसममा तातो खोज्दै जङ्गलबाट अजिङ्गरहरु बाहिर निस्कने गरेको जानकारी दिनुभयो । “घस्रने जातका जन्तुहरुको रगत चिसो हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदको समयमा घाम ताप्न बाहिर निस्कने गर्छन् ।” उहाँका अनुसार अजिङ्गर मांसाहारी हुने हुँदा जङ्गलमा प्रशस्त मात्रमा आहार पाउने गर्छन् ।
मानिसको अतिक्रमण बढ्दै जाँदा आहारको खोजीमा अजिङ्गरहरु गाउँ बस्ती प्रवेश गर्ने सम्भावनालाई पनि उहाँले औँल्याउनुभयो ।रासस

सम्बन्धित खबर