शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

कोशीमा सहज कार्यक्रम: पर्यटन पूर्वाधार बनाउन स्वीस सरकारले साढे दुई अर्ब सहयोग गर्ने

शुक्रवार, पौष ६, २०८०

काठमाडौं, ०६ पुस । सरकारले कोशी प्रदेशमा पर्यटन पूर्वाधार निर्माण गर्न ‘सहज परियोजना’ सञ्चालन गर्ने भएको छ । स्वीस सरकारको सहयोग र नेपाल सरकारको समन्वयमा प्रदेश सरकारले पर्यटन पुर्वाधार निर्माण गर्न सो परियोजना सञ्चालन गर्ने प्रक्रिया अघि बढेको हो ।

परियोजनाले कोशीका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न फुट ट्रेल र पार्क निर्माण गर्नेछ । परियोजना सञ्चालनका विषयमा सहरी विकासमन्त्री सीता गुरूङको पहलमा चरणबद्ध छलफल भइसकेको छ । हालै मन्त्रालयमा मन्त्री गुरूङ र स्वीस राजदूत डेनियल मेउलीबीच शिष्टाचार भेट भएको थियो । सो क्रममा पनि परियोजना सञ्चालनका लागि छलफल भएको थियो ।
भेटमा स्वीटजरल्याण्डमा संविधान निर्माण र कार्यान्वयनका लागि भएको असल अभ्यास र स्वीस सरकारले नेपालमा विशेष गरी पुल निर्माणमा गरेको योगदानबारे कुराकानी भएको थियो । मन्त्री गुरूङको आग्रहमा स्वीस सरकारले कोशीका पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी पर्यटकीय पदमार्ग निर्माण र पार्कहरू निर्माण गर्ने लगायत कार्यक्रम सञ्चालनकालागिस्वीकृति दिएको हो ।

सहज परियोजनाअन्तर्गत पुर्वका पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी करिब ४०० किलोमिटर फुट ट्रयाक (पैदलमार्ग) निर्माण हुने मन्त्री गुरूङका स्वकीय सचिव भगिमान गुरूङले जानकारी दिनुभयो ।
उनका अनुसार तुम्लिङटार देखि तेह्रथुमसम्म लालीगुराँस ट्रेल निर्माण हुनेछ । त्यस्तै, खोटाङ्गदेखि भोजपुर हुँदै संखुवासभासम्म मुन्धुम ट्रेल निर्माण हुनेछ । पाँचथरको फिदिमदेखि लब्रेकुटी, सिलौटी, पौवाभञ्ज्याङ, गिरपु, सिन्तापु, गुरुवाले, सन्दकपुर माइपोखरी हुँदै इलामसम्म पुग्ने फाल्गुनन्द ट्रेल विकास गर्ने योजना छ ।
त्यसपछि इलाममा चिया गार्डेन बनाउने योजनासमेत गरी करिब साढे दुई अर्ब रुपैयाँको परियोजना सञ्चालन हुन लागेको हो ।

सम्बन्धित खबर