शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएका झापा कनकाईका सुवाष राउत घर फर्किए

आइतवार, पौष ८, २०८०

झापा, ०८ पुस । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका- ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किएका छन् ।

तीन वर्ष पहिले आफ्नै रुममा बस्ने खोटाङ ऐसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुबाषलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो । राउतले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताइएको छ । राईको मृत्युका कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो । तर उक्त घटनामा आफु निर्दोश रहेको राउतले बताउँदै आएका थिए ।
राउतलाई विदेशमा मृत्युदण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका दुई छोराछोरी, श्रीमती कुमारी राउत, बुबा जितबहादुर र आमा दुर्गामायाको विजोग भएको थियो । उक्त खबर सुनेसँगै आमा दुर्गामायाको समेत निधन भयो ।
कतारमा मृत्युदण्डको सजाय सुनाएसँगै स्थानीयवासीको पहलमा ब्लडमनि तिर्नका लागि रकम सङ्कलन गरी पीडित परिवारलाई रकम बुझाएर तीन बर्ष पछाडि राउतलाई स्वदेश फर्काइएको हो ।

राउतलाई स्वदेश फकाउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति समेत गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार रुपियाँ रकम सङ्कलन गरेको थियो ।
राउत स्वदेश फर्काएसँगै आइतबार गाउँमा स्वागत गरिएको छ । झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालप्रसाद साँबा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश सरकारका कृषि मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदी लगायतले स्वदेश फर्किएका राउतलाई स्वागत गरेका छन् ।

सम्बन्धित खबर