शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ र कोशी प्रदेशको लगातार तेस्रो जित

आइतवार, पौष ८, २०८०

काठमाडौं, ०८ पुस । प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरी बल(एपीएफ) क्लब र कोशी प्रदेशले लगातार तेस्रो जित हात पारेका छन्।

आइतबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रन र कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हराए। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर एक सय ५१ रन जोडेको थियो।

एपीएफका लागि इन्दु बर्माले ७० र ममता चौधरीले ५९ रन बनाए। लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६१ रन मात्र जोड्न सक्यो। एपीएफका बलर इन्दु बर्माले ३, विनु बुढाले २ तथा रेखा रावल, करुणा भन्डारी र सिता रानामगरले एक एक विकेट हात पारे। लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन जोडिन्। चार ब्याटरले खाता खोल्न सकेनन्।

कीर्तिपुर क्रिकेटमैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय २९ रन जोडेको थियो। कोशीका रुबिना क्षेत्रीले ५७ र अप्सरी बेगमले ३७ रन जोडे।

मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रन जोड्यो। मधेशका लागि साना प्रविनले २७ र आरती महतोले १८ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। कोशीका सबनम राई र एलिसा खडियाले २र२ तथा संगिता राई र रुबिन क्षेत्रीले एक एक विकेट लिए।

जितपछि कोशीलाई नेटरनरेटमा पछाडि पार्दै एपीएफ ६ अंकसहित पहिलो स्थानमा छ। समान अंक भएको कोशी दोस्रो स्थानमा छ। मधेशले लगातार तेस्रो हार ब्यहोरेको हो भने लुम्बिनीले ३ खेलमा केवल २ अंक जोडेको छ।

सम्बन्धित खबर