आइतवार, वैशाख ३०, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापामा १० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन सुरु, १५ दिन परीक्षणकाल

मङ्गलवार, पौष १०, २०८०

झापा, १० पुस । झापामा सौर्य उर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले आज (मंगलबार) बाट उर्जा उत्पादन सुरु गरेको हो । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट ई.सिताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका ई.साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका ई. हरि तिवारी, परियोजनाका क्न्ट्याक्टर कुवेरमणी नेपाल, ई.अभिषेक पराजुलीको उपस्थितिमा शवस्टेशनमा जडान गरिएको हो ।

सञ्चालक पोखरेलका अनुसार १५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहनेछ । परीक्षणकालिन उत्पादन भएको उर्जा राज्यलाई निशुल्क प्रदान गर्नुपर्ने व्यवस्था छ । त्यसपछिको उत्पादन राज्यले खरिद गर्नेछ ।

८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ विगाहा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो ।
माछापुच्छ्रे र सिभिल बैकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक शेयरबाट लागत रकम जुटाइएको भट्टराईले बताउनु भयो ।उहांका अनुसार कम्पनीले अब १५ दिनपछि नियमित आम्दानी सुरु गर्नेछ ।

दूधे बजारबाट करीव १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा रहेको परियोजनास्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिकै छ । कम्पनीबाट उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन निर्माण गरेको थियो ।

झापा इनर्जीले उत्पादन गरेको उर्जा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेको छ । सम्झौता अनुसार परियोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ ।

प्राधिकरणसँग २०७८ मंसिर १२ मा विद्युत् खरिदको सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

नेपाल बाहिर सौर्य ऊर्जाको ठूला परियोजना सञ्चालनको अध्ययनपछि अगुवाई गर्नेहरुले झापा इनर्जीको परिकल्पना गरेका थिए । प्रतिनिधिसभा सदस्य एलपी साँवाको अगुवाईमा जिल्लामा सौर्य उर्जाको परिकल्पना गरिएको थियो ।

हालसम्म नेपालमा २१ वटा सौर्य ऊर्जा परियोजना सञ्चालनमा रहेका छन् । तीमध्ये सबैभन्दा धेरै क्षमता भनेको दश मेगावाट रहेका छन् । उक्त परियोजनाको शिलान्यास संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङले गर्नु भएको थियो ।

सम्बन्धित खबर