झापा, २२ पुस : नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा रु ८५ लाखको कारोबार भएको छ ।
यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष होम उपाध्यायले बताउनुभयो ।एक महिनामा एक लाख ५० हजार दर्शकलाई अवलोकन गराउने भन्दै रु तीन करोडको जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक उमेश राउतले महोत्सवमा आठ कम्पनीका १५ ब्रान्डका तीन हजार डिजाइनका जुत्ताचप्पल बिक्रीका लागि राखिएको बताउनुभयो ।
पछिल्लो समय स्वदेशमा उत्पादित गुणस्तरीय जुत्ताचप्पलले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको जनाउँदै नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष उपाध्यायले सामूहिक ब्रान्डिङ र शोरुमको अभ्यास थालिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।हाम्रो जुत्ता घर नामक फेसबुक पेज लाइक गर्नेहरुलाई सामान खरिदमा दुई प्रतिशत ‘क्यास ब्याक’ अफर दिइएको आयोजकले जनाएको छ । व्यापारी टीका उप्रेतीले महोत्सवमा उत्साहजनक व्यापार भइरहेको बताउनुभयो । “दैनिक एउटा स्टलबाट रु २५ हजारसम्म बिक्री भइरहेको छ । आगामी दिनमा अझ बढ्ने आशा गरेका छौँ”, उहाँले भन्नुभयो ।