बिर्तामोड, २४ पुस । झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ ।
बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको हो ।
पहिलो पाइला बहुउद्देश्यीय सहकारीका अध्यक्ष सनिप भुजेल महिनौँदेखि फरार छन् । त्यस सहकारीले करिब ३ करोड रुपैयाँ बचत फिर्ता गर्न देखिएको कोशी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले बताउनु भयो ।
त्यस्तै समाजसेवी बहुउद्देश्यीयले २ करोडभन्दा बढी र जयपुर बहुउद्देश्यीयले १ करोडको हाराहारीमा बचत फिर्ता गर्न बाँकी रहेको जानकारी दिनुभयो । त्यस्तै पूर्वार्ध कृषि सहकारी संस्थाले प्रदेश सरकार र प्याक्टबाट ल्याएको १ करोडभन्दा बढी अनुदान रकम दुरुपयोग गरेको जनाइएको छ ।
दमकको संयुक्त कलाकर्मी साकोसमा भएको अनियमितताका सम्बन्धमा छानबिन गरी त्यसको प्रतिवेदन दमक नगरपालिकामा पठाइएको जिल्ला सहकारी संघ झापाले जनाएको छ । उजुरी परेका अन्य सहकारीमाथि पनि छानबिन भइरहेको कोशी प्रदेश सहकारी संघका सचिव दंगालले जानकारी दिनुभयो ।



