आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

ठगीको अभियोगमा झापाका विक्रम दाहाल, मोरङका टङ्कप्रसाद सुवेदी पक्राउ

मङ्गलवार, पौष २४, २०८०

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टङ्कप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका–४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टङ्कप्रसादले एक जना पीडितबाट रु तीन लाख र विक्रमले एक जनालाई मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रु आठ लाख ९० हजार ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले टङ्कप्रसादलाई काठमाडौँ बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर