बिहिवार, मंसिर ६, २०८१
Nayapaper | अनलाइन पत्रिका

‘ए डिभिजन लिग’ समयमै हुनेमा आशंका

मङ्गलवार, मंसिर २७, २०७९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ ।

महिना दिन बाँकी रहेको अवस्थामा सहभागी हुने क्लव भने अहिलेसम्म दर्ता भएका छैनन् । अघिल्लो संस्करणको बक्यौता रकम बाँकी रहेको अवस्थामा क्लबहरु सहभागिता जनाउन हिच्किचाईरहेका हुन् । सहभागि हुने क्लवलाई एन्फाले पुस पहिलो साता भित्र क्लब दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लबहरु तयारी नपुगेको भन्दै चिन्तित छन् ।

लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबलाई पत्राचार गरिसकेको छ । पुस पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लवहरुले अघिल्लो संस्करणको लिगको बक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन् ।

वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र क्लवहरुले एन्फामा रकम भुक्तानी मागगर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । तिनै मध्येको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लव दर्ता गर्न तयार भएको बताए । सधैं लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लब सञ्चालनमा समस्या भएको बताए ।

उहाँले एन्फा र क्लबबीच डबल लिग, काठमाडौं भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरु लिग खेल्न तयार भएको बताए ।

एन्फाका महासचिव किरण राईले पुरानो वक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढीसकेको बताउँदै पुस पहिलो साता भित्र क्लव दर्ता गरेर पहिलो किस्ताको रकम लिन आग्रह गरे ।

पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरु विकल्पका बाटो रोजिसकेका छन् । केही खेलाडी व्यवसायिक फुटबलका लागि विदेशीएका छन् भने केही फरक विधामा भविष्य खोजिरहेका छन् । मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेण्डरमा आयोजना हुन मुस्किल भइरहेको खेलाडीको गुनासो छ ।

मुख्य प्रायोजक कतार एयरवेजले हात निकाल्दा एन्फा आर्थिक रुपमा संकटमा छ । आपसी खिचातानीमा रुमलिएको एन्फा नेतृत्व र कठिन आर्थिक अवस्थाले लिगबोर थप अन्योल बढको हो ।

सम्बन्धित खबर