सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा प्रभावित

सोमवार, माघ १, २०८०

धरान (सुनसरी), १ माघ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेएचआईएस)का चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलनले अस्पतालको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै भएको आन्दोलनका कारण आज आकस्मिक कक्षबाहेकका ओपिडी तथा बिल काउन्टर बन्द छन् । आन्दोलनकारी प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । उनीहरुले आइतबारदेखि अस्पतालका सेवा ठप्प पारेका थिए । अस्पतालका सेवा ठप्प भएपछि टाढाबाट उपचार गराउन आएका बिरामी समस्यामा परेका छन् ।

प्रतिष्ठानका कर्मचारीले यसअघि गत असोज र कात्तिकमा आन्दोलन गरेका थिए । करिब एक महिनाको आन्दोलन पछि गत कार्तिक २० गते भएको वार्तामा प्रतिष्ठान प्रशासन र आन्दोलनरत पक्षबीच विधि प्रक्रिया पुरा गरेर पुस २ देखि १५ गतेसम्म बढुवाका लागि अन्तरवार्ता अघि बढाइने सहमति भएको थियो ।सहमतिअनुसार अन्तर्वार्ता प्रक्रिया सुरु नभएपछि आन्दोलनकारी पुस २४ देखि पुनःआन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पुस २६ गते विज्ञप्ति जारी गरेर पुस २८ सम्म प्रक्रिया अघि नबढाएर पुस २९ देखि प्रतिष्ठानका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । सोहीअनुसार सेवा ठप्प पारिएको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताउनुभयो ।

गत पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइए पनि कामु उपकुलपति प्रा डा कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन । त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा डा कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने जनाएका छन् ।

स्वास्थ्य सेवा प्रभावित नपार्न दलहरुको आग्रह

आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित बनेपछि धरानमा सक्रिय प्रमुख पाँच राजनीतिक दलले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्रभावित नपार्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस धरान नगरसभापति श्याम पोख्रेल, नेकपा (एमाले) नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवती रमण राईले संयुक्त वक्तत्व जारी गरेर स्वास्थ्य र शिक्षा प्रभावित भए प्रतिष्ठान प्रशासनमा हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

राजनीतिक दलको समन्वय र उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्न गराउन दलहरूकोतर्फबाट पहल भइरहेको हुँदा आन्दोलनलाई रचनात्मक बनाई अघि बढ्न आन्दोलनरत पक्षलाई वक्तव्यमार्फत आग्रह गरिएको छ ।

अख्तियारी फिर्ता

प्रतिष्ठानका कामु उपकुलपति प्रा डा कार्कीले प्रतिष्ठानका रजिष्ट्रार प्रा डा सूर्यप्रसाद सङ्ग्रौलाको अख्तियारी फिर्ता गर्नुभएको छ । आइतबार रजिष्ट्रार प्राडा सङ्ग्रौलालाई पत्र पठाउँदै कामु उपकुलपति डा कार्कीले गत असार १७ गते आफू कामु उपकुलपति नियुक्ति भएपछि दिइएको सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलाप र मुद्दा मामिलासम्बन्धी कामको अख्तियारी फिर्ता लिइएको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर