बिर्तामोड, ०३ माघ । झापाको बाह्रदशी– ३ राजगढ बजारमा पुस २९ गते राती २२ तोला सुन चोरी भएको छ । मनिष राजवंशीको घरबाट २२ तोला सुन र ८५ तोला चाँदी चोरी भएको हो । राजवंशीले ३५ लाख बराबरको क्षति भएको भन्दै इलाका प्रहरी कार्यालय राजगढमा उजुरी दिएका छन् ।
राजवंशीले श्रीमतीलाई झापा गाउँपालिका माइती पठाएर भाक्का दिवस मनाउन बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला आएका थिए । राती आफु पनि ससुराली गएका उनी विहान घर आइपुग्दा सबै ढोका फुटाएको भेटाउँदा चकित भएका थिए । माघ १ गते विहानै घर आयौं, राजवंशीले भने – ‘घर आउँदा सबै खुल्ला थियो । घरभित्रका दराजहरु सबै खुल्ला थिए । कपडाहरु जथाभावी छरिएको थियो । घरमा रहेको सबै गरगहना चोरी भएको रहेछ ।
घटनाको प्रकृति हेर्दा, घरको कम्पाउड वाल नाघेर घरमा प्रवेश गरेको राजवंशीको भनाई छ । गेटको ढोका नाघेर छिरेका चोरहरुले घरको मुल ढोकासहित भित्र दुई वटा कोठाको ढोका फोरेछन् । सबै बल्वहरु फुटाएको भेटियो । घरमा चारले लगाएको टोपी फेला परेको छ । टोपी सहित रड, पेचकस र केहि फलामे सामग्रीहरु भेटिएको उनीहरुको भनाई छ ।
छठमा राजगढ बजारमा रहेको एउटा सुन पसलबाट २ तोला सुन चोरी भएको थियो । हप्तापिच्छे ठुला–ठुला चोरीको घटना भइरहेको वडा नं. ३ का पूर्व वडाअध्यक्ष विरेन्द्र राजवंशीले जानकारी दिए । उनले प्रहरीले प्रभावकारी रुपमा सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । मोटरसाइकल र साइल चोरीका घटना अनगिन्ती रहेको राजगढबासीको भनाई छ ।
पछिल्लो समय राजगढबासीले सुरक्षा प्रत्यमभूत गर्न नसकेको अधिकांशको गुनासो छ । बजार क्षेत्रमै यति ठुलो चोरी हुनुले प्रहरीको काममा समेत प्रश्न उठेको छ ।
चोरी भएको आसपासमा कतै सीसी क्यामेरा नरहेको बुझिएको छ ।