बिर्तामोड, १७ माघ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताउनुभएको छ ।
बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, विर्तामोड वडा नं ७ र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दै उहाँले समाज निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
“ज्येष्ठ नागरिकको राजनीतिक, सामाजिक, आर्थिक अनुभवले हामीलाई अघि बढ्न प्रेरणा, हौसला र मार्ग मिल्छ”, उहाँले भन्नुभयो । सो अवसरमा उहाँले बिर्तामोड–७ स्थित शहीद नेत्र स्मृतिपार्कको विकासका लागि पहल गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । हात्ती प्रभावित उक्त क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङ निर्माणका लागि रू दुई करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई, वडाअध्यक्ष अविरलकृष्ण खरेल, सुन्दर निचाझोडाका वनका अध्यक्ष बद्री प्याकुरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा २ सय ४० जना ज्येष्ठ वुद्धवृद्धालाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो ।