आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाको मेचीनगर–१५ मा झोलुङ्गे पुल निर्माण अलपत्र

बुधवार, माघ १७, २०८०

झापा, १७ माघ : बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ । स्थानीयले पुलको निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन् ।
मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो । क्रमागत रुपमा सङ्घीय सरकारले बजेट पठाउला भन्ने आशले तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का लगाइएको मेचीनगर नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताउनुभयो ।
सरकारले क्रमागत रुपमा ज्यादै थोरै बजेट पठाएपछि बिलको भुक्तानी नगरपालिकाले दिन नसक्दा झोलुङ्गे पुल निर्माणको काम रोकिएको छ । आधुनिक शैलीको उक्त पुल ३५० मिटरको हुने र त्यसको कूल लागत रु. चार करोड ३८ लाख रहेको इन्जिनियर भट्टराईले बताउनुभयो ।
सिभिल कन्स्ट्रक्सनको कार्य पूरा भएर लागतको ३० प्रतिशत बिल भुक्तानीका लागि निर्माण व्यवसायी पक्षले पेस गरेको जानकारी दिदै इन्जिनियर भट्टराईले भुक्तानी दिन नसकिएको स्वीकार गर्नुभयो ।
“बदनियत राखेर ठेकेदार पक्षले काम रोकेको होइन,” उहाँले भन्नुभयो–“क्रमागत रुपमा बजेट आइरहेकै छ तर तोकिए जति आएको छैन । अर्थमन्त्रालयले बजेट दिन सकेन भन्ने विषयमा हामी केही भन्न सक्दैनौं ।”
स्थानीयबासीले ठेकेदार पक्षले पुलको निर्माण अलपत्र पारेर हिँडेको आरोप लगाएका छन् । मेचीनगर–१५ ज्यामिरगढीका जयराम दाहालले सङ्घीय सांसद् विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले पुल अलपत्र हुँदा वेवास्ता गर्नुभएको गुनासो गर्नुभयो ।
उक्त झोलुङ्गे पुलको शिलान्यास सांसद शर्मा र प्रदेश सांसद गोपाल तामाङले संयुक्तरूपमा गर्नुभएको थियो ।

सम्बन्धित खबर