शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन : मत सर्वेक्षणमा न्यौपानेलाई हराउँदै मैनाली निर्वाचित हुने

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड, ०४ फागुन : बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल चुनावी मैदानमा होमिएका छन् । स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलबीच नेतृत्व चयनका लागि फागुन १४ गते प्रतिस्पर्धा हुँदैछ ।
स्वतन्त्र प्यानलको तर्फबाट हालका महासचिव अर्जुन कुमार मैनाली र लोकतान्त्रिक प्यानलबाट संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले नेतृत्व गरिरहेका छन् । दुवै जना बिर्तामोडका लागि परिचित अनुहार हुन् । फागुन १ गते लोकतान्त्रिक प्यानलले उम्मेदवारहरु घोषणा गरेको थियो । यस्तै, स्वतन्त्र व्यावसायिक प्यानलले पनि फागुन ३ गते अर्जुन कुमार मैनालीको नेतृत्वमा उम्मेदवारहरु घोषणा गरिसकेको छ ।
दुवै प्यानलले मतदाताहरुलाई आफ्नो पक्षमा मत माग्नका लागि भेटघाटलाई तीब्रता दिएका छन् । बिर्तामोड वाणिज्य संघको निर्वाचनका लागि मिति तोकिए लगत्तै आकांक्षीहरु चुनावी वातावरण निर्माण गर्न सक्रिय भएका थिए । दुई वटा प्यानल नै खुलेर चुनावी मैदानमा होमिए पछि बजारमा उम्मेदवारहरुको चर्चा चुलिएको छ । दुई प्यानलले सार्वजनिक गरेका उम्मेदवारहरुको पक्ष विपक्षमा बजारमा चर्चा सुरु हुन थालेको छ ।
बिर्तामोड वाणिज्य संघको आसन्न निर्वाचनका लागि बजारमा भइरहेको चर्चा र चुनावी सरगर्मीसँगै अध्यक्षका उम्मेदवारहरुको मत सर्वेक्षण गरिएको छ ।
बिर्तामोड बजार क्षेत्रसहित गरामनी, चारपाने र बिर्ताबजारमा मत सर्वेक्षण गरिएको हो । फागुन १ गतेदेखि ३ गतेसम्म गरिएको सर्वेक्षणमा चार जना पत्रकार सहभागी थिए । अध्यक्षको उम्मेद्वारमध्ये कसलाई मत दिनुहुन्छ भनेर प्रतिनिधि मुलक ढंगले २५० जनालाई सोधिएको थियो ।
मत सर्वेक्षणमा दुई अध्यक्षका उम्मेदवारमध्ये अर्जुन कुमार मैनालीको पक्षमा ४५.२ प्रतिशत मत प्राप्त भएको छ । २५० जनामा गरिएको सर्वेक्षणमा ११३ जनाले मैनालीलाई अध्यक्षमा मत दिने बताए । अर्का अध्यक्षका उम्मेदवार न्यौपानेलाई ३८.८ प्रतिशत मत प्राप्त भयो । उनको पक्षमा ९७ जनाले मत दिने बताएका थिए ।
यस्तै, १३.२ प्रतिशतले दुवैको पक्षमा खुलेर बोल्न चाहेनन् । उनीहरुले कुन अध्यक्षलाई मत दिने भन्ने बारे बताएनन् । बताउन नचाहनेको संख्या ३३ जना थियो । सर्वेक्षणका क्रममा कसैलाई पनि मत दिन्न भन्ने व्यवसायी पनि भेटिए । तर, मत दिन्न भन्नेहरुको संख्या अत्यन्तै न्यून पाइएको छ । २.८ प्रतिशतले वाणिज्य संघमा खुलेरै ‘नो भोट’ भनेका छन् । वाणिज्य संघ हुनुले केहि अर्थ नभएको भन्दै उनीहरु मतदानमा सहभागी नहुने प्रतिक्रिया दिए ।
यो सर्वेक्षणको नतिजा अनुसार अध्यक्ष पदमा अर्जुन कुमार मैनाली निर्वाचित हुने देखिएको छ ।

सम्बन्धित खबर