आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

व्यवसायीका नीतिगत समस्यामा आवाज उठाउँदै आएका राजकुमार घिमिरे राजु

बुधवार, फागुन ९, २०८०

बिर्तामोड, ९ फागुन ।  घिमिरे राजु, झापाको बिर्तामोड क्षेत्रका चिर परिचित व्यवसायी हुन् । व्यवसायीका नीतिगत समस्याका विषयमा निरन्तर आवाज उठाउँदै उनीहरूको हकहित र संरक्षणमा घिमिरेको भूमिका अग्रणी रहँदै आएको छ ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेर उनले व्यवसायिक हितका पक्षमा जुन वकालत गरे, त्यसैको परिणाम स्वरूप यसपटक व्यावसायिक प्यानलका तर्फबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने एउटा अवसर घिमिरेलाई प्राप्त भएको छ ‌।
नेतृत्व गर्छु भनेर मात्रै हुँदैन । त्यसका लागि व्यवसायिक सीप, क्षमता र आँट भरोसा पनि चाहिन्छ । यी सबै गुणले घिमिरेलाई साथ दिएको छ । उनी केवल निर्वाचनको प्रतीक्षामा छन् । आम व्यवसायी मतदाताको मन र मत जितेर बिर्तामोड उद्योग वाणिज्य सङ्घको व्यवस्थापकीय नेतृत्वमा आफूलाई स्थापित गर्ने चाहनासहित निर्वाचनमा होमिएका घिमिरे राज्यले व्यवसायीमाथि लगाइरहेका अनाधिकृत करको विरुद्धमा लाग्नुपर्ने बेला आएको बताउँछन् ।
घिमिरेको पहिलो एजेन्डा भनेकै राज्यले लगाएका करको समायोजन हो । व्यावसायिक क्षेत्रले सरकारी निकायलाई चिठी वा ज्ञापन बुझाएर मात्रै करको विषय समाधान नहुने घिमिरेको धारणा छ । उनी सार्वजनिक बहसका माध्यमबाट करका विषयहरू निरूपण गर्दै सरकारका निकायहरूलाई पारदर्शी र जवाफदेही बनाउन प्रयत्न गर्नुपर्छ भन्ने पक्षमा छन् ।
सरकारी निकायले समयमा सुसुचित नगर्ने तर करका विषयमा व्यवसायीमाथि ज्यादती गर्ने परम्परागत प्रवृत्तिविरुद्ध संघको नेतृत्वले आवाज उठाउनु पर्ने, अन्यायमा परेका व्यवसायीको संरक्षण गर्नुपर्ने, तिनका लागि कानुनी सहयोग र सहायता उपलब्ध गराउनु पर्ने लगायतका विषयमा घिमिरे प्रष्ट छन् ।
घिमिरेको अर्को एजेन्डा भनेको अनाधिकृत रुपमा चन्दा चिठ्ठा मागेर व्यवसायीलाई आतंकित बनाउने प्रवृत्ति विरुद्ध हो । स्वेच्छाले चन्दा दिनु स्वभाविक हुन्छ । तर, रकम तोकेर नदिए धाकधम्की दिने, व्यवसायमा अवरोध गर्ने लगायतका समस्याबाट बिर्तामोड क्षेत्र वरपरका व्यवसायी निरन्तर समस्यामा छन् । त्यसविरुद्ध बोल्ने आँट नभएसम्म व्यवसायी सधैँ पीडित हुनुपर्ने भएकाले त्यसका लागि संघलाई दरिलो बनाउन पनि आफ्नो खाँचो पर्ने घिमिरेको तर्क छ ।
घिमिरेको तेस्रो एजेन्डा भनेको दैवी प्रकोप घटनामा व्यवसायी पीडित भए राहत दैवी प्रकोप उत्थान राहत कोष खडा गरी त्यसमार्फत व्यवसायीलाई राहत उपलब्ध गराउने हो । तिनै तहका सरकारसँग दूरी बढ्नुमा वाणिज्य सङ्घको नेतृत्व जिम्मेवार हुने भएकाले यसमा सबैसँग समन्वय र सहजीकरण गर्न सक्ने व्यावसायिक क्षमता चाहिने घिमिरे बताउँछन् ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घमा कुमार भट्टराईको नेतृत्वमा रहेर उनले एक कार्यकाल सदस्यको भूमिका निर्वाह गरेका छन् । सदस्य पदमा सर्वाधिक मत पाएर जितेका घिमिरे त्यही बेलादेखि संघको नेतृत्वमा बिस्तारै स्थापित हुने मनस्थितिमा थिए ।
निर्वाह गरेको कार्यकुशलताका कारण प्रकाश सिवाकोटी नेतृत्वको कार्यसमितिमा उनलाई उपाध्यक्ष पदमा रहेर काम गर्ने अवसर जुरेको थियो । व्यावसायिक क्षेत्रमा आफ्नो भूमिकालाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगेका घिमिरे यसपटक वरिष्ठ उपाध्यक्षको नेतृत्व गर्ने सोचमा छन् । २५ वर्षदेखि बिर्तामोडमा बसेर व्यापार व्यवसाय गर्दै आएका घिमिरे विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा स्थापित भइसकेका छन् । नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य उनी अरु थुप्रै सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । पाँचथरको रविबाट झापा झरेर व्यवसायमा जमेका घिमिरे नव आगन्तुक युवा व्यवसायीका लागि प्रेरणाका स्रोत पनि हुन् । व्यवसायमा गरेको लगानी, मेहनत र परिश्रमले उनलाई एउटा अब्बल व्यवसायीका रुपमा स्थापित गरेको मात्र छैन, आम व्यवसायीको नेतृत्व गर्ने ठाउँमा पनि पुर्‍याएको छ ।
राज सप्लायर्सका सञ्चालक घिमिरे बिर्तामोड क्षेत्रका व्यवसायीले आफूलाई मत दिएर यसपटक पनि जिताउने आशा र अपेक्षामा छन् । स्वतन्त्र व्यावसायिक प्यानलका आशालाग्दा अनुहारलाई संघको नेतृत्वमा विजय गराउन आम व्यवसायीले भूमिका खेल्ने घिमिरेको अपेक्षा छ ।

सम्बन्धित खबर