आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड उद्योग वाणिज्य संघमा राजु न्यौपाने निर्वाचित ( मत परिणाम सहित)

बुधवार, फागुन १६, २०८०

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र व्यावसायिक प्यानलका अर्जुनकुमार मैनालीले १५२० मत पाएका छन् । जुन ७०५ मतको अन्तर हो । बहुमतसहित लोकतान्त्रिक प्यानल विजयी भएको हो भने केही पदमा स्वतन्त्र प्यानलका उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।

१९ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलले वर्चस्व कायम गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलका राजकुमार घिमिरे राजु १८२६ मतसहित विजयी भएका छन् ।

त्यस्तै महासचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा २११९ मत ल्याएर विजयी भएका छन् भने उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै विशाल थापा २१०३ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि लोकतान्त्रिक प्यानलकै जीवनकुमार खड्का १९२१ मतसहित विजयी भएका छन् । जनसम्पर्क उपाध्यक्षमा भने स्वतन्त्र प्यानलकी गोमा भट्टराईले १८६१ मतसहित जितेकी छन् ।

त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका पुकार बरालले १९९५ मतसहित जित्दा वाणिज्य सचिवमा पनि लोकतान्त्रिककै राजकुमार शाह १८५५ मतसहित निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा स्वतन्त्र प्यानलका युवराज निरौलाले १८८६ मतसहित जित्दा सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी तिलोतमा खत्री १८२७ मतसहित विजयी भएकी छन् ।

त्यस्तै सदस्यहरुमा लोकतान्त्रिकका अनन्तलाल महतो १७६३ , रमेश घिमिरे १८०१, दिनेश श्रेष्ठ १६७२, डिल्लीराम कोइराला १५६१ मतसहित विजयी हुँदा स्वतन्त्र प्यानलका तर्फबाट कृष्णप्रसाद बजगाई १६६८ , शत्रुधन गुप्ता १५३० र केदार खनाल१५४५ मतसहित विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यमा लोकतान्त्रिककी सुशिलाकुमारी कार्की १७५७ र स्वतन्त्र प्यानलकी सुष्मा उप्रेती सुवेदी १६९५ मतसहित विजयी भएकी छन् । मतदानमा ४ हजार ९५ मत खसेको थियो ।

वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका थिए । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल थियो भने अर्कातिर नेकपा एमाले, राप्रपा, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको रहेको थियो ।

सम्बन्धित खबर