सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगर अस्पतालबाट एक वर्षमा ७६ हजार भन्दा बढीलाई सेवा प्रदान

सोमवार, फागुन २१, २०८०

झापा । बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना विरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा. सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या वृद्धि भइरहेको जानकारी दिनु भयो ।
प्रथम वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा प्रतिवद्ध भई काम गरिरहेको बताए । उनले अस्पतलामा सेवा विस्तारसँगै विरामीको चाप बढिरहेको जानकारी दिनु भयो ।

विरामीहरुले अस्पतालमा उपलब्ध सेवाबाट प्रभावकारी रुपमा लाभान्वित भएको बताउनु भयो । उहाँले एक वर्षको अवधिमा दिइएको सेवाको विवरण समेत सार्वजनिक गर्नु भयो । नगर अस्पतालले स्त्री तथा प्रसुति रोग, बालरोग विशेषज्ञ सेवा र मनोरोगको समेत सेवा उपलब्ध गराइरहेकोे छ। २४ घण्टा बर्थिक सेन्टर सञ्चालन गरेको नगर अस्पतालमा ३९ जनाको डेलिभरी सफल भएको डा. अधिकारीको भनाई छ । उहाँका अनुसार आमा बच्चा दुवैको स्वास्थ्य स्वस्थ्य रहेको छ । बालरोग विशेषज्ञको सेवा सुरु भएपछि ७ हजार ५ सय २१ जना १४ वर्षमुनीका बालबालिकालाई उपचार सेवा प्रदान गरिएको छ । नियमित खोप सञ्चालन हुने अस्पतालमा अहिले दादुरा रुवेला विरुद्धको खोप समेत सञ्चालन भइरहेको छ ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले अस्पतालको सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले अस्पताललाई नगरवासीको स्वास्थ्योपचारमा भरपर्दो संस्थाको रुपमा स्थापित गर्ने बताउनु भयो । विगतमा सिटामोल र आइरन चक्की मात्रै वितरण हुने अस्पतालको सेवा विस्तार धेरै अघि बढिसकेको उहाँको भनाई थियो ।
आगामी दिनमा नागरिकले खोजेका सबै प्रकारका स्वास्थ्य सेवा नगर अस्पतालमै उपलब्ध गराउन स्थानीय सरकार प्रतिवद्ध भएको बताउनु भयो । विभिन्न चुनौतिका बाबजुत पनि नगर अस्पतालको सेवा प्रवाह सन्तोषजनक रहेको उहाँको भनाई छ । उहाँले पैसा अभावले उपचार गर्न नसक्ने विपन्न परिवारहरुलाई उपचारमा कुनै पनि असुविधा नहुने धारणा राख्नु भयो । नगर प्रमुख प्रसाईले अस्पतालको सेवा प्रवाहमा आवश्यक सूझाव दिन समेत आग्रह गर्नु भयो ।
प्रथम वार्षिकोत्सवमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, अस्पताल सञ्चालक समिति सदस्य लक्ष्मी आचार्यले आगामी दिनमा सेवा विस्तारलाई ध्यान दिँदै सेवालाई थप प्रभावकारी बनाइने बताउनु भयो । कार्यक्रममा नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, अस्पताल व्यवस्थानपन समिति सदस्य अर्जुन पाठक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर