आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

स्व. डोमालाल राजवंशीको परिवारका लागि घर बनाउन बिनोद बस्नेतको अभियान

शनिवार, फागुन २६, २०८०

बिर्तामोड, २६ फागुन : स्वर्गीय डोमालाल राजवंशीका सन्तानका लागि झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले घर निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

झापा गोल्डकप सञ्चालन भइरहेको रंगशालाको जग्गा देवी गुठीलाई दान गर्ने डोमालाल राजवंशीको परिवार अहिले घरबारविहीन छन् । उनै जग्गादाता राजवंशीको परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेतले ५१ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा सहयोगको घोषणा गरेसँगै अन्य सहयोगी मनहरुलाई पनि यस अभियानमा जुट्न आह्वान पनि गरेका छन् । यसै अभियानमा जोडिन चाहन्छु भन्दै युवा व्यवसायी राजीव तेघ्रे धिमालले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

यसैगरी, युवा व्यवसायी अर्जुन चुडालले नगद एक लाख रुपैयाँ र किरण श्रेष्ठ, समिल राईले राजवंशी परिवारको घर बनाउनका लागि पनि २५-२५ हजार सहयोग गर्ने वचन दिएका छन् ।

अध्यक्ष बस्नेतको अभियानलाई सफल बनाउनका लागि अहिले चौतर्फी सहयोगी हातहरु अघि बढेका छन् । सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतको प्रशंसा गरिएको छ ।

यसैबीच, अध्यक्ष बस्नेतकै अभियानमा जोडिँदै सुधा कुमार र रविन श्रेष्ठले जनही ५१-५१ हजार, सञ्चारकर्मी गणेशमान र इन्द्रजित मुखियाले ११ हजार, भूमिका लिम्बूले पनि ११ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

यस्तै, राजवंशी परिवारको घर निर्माणमा लाग्ने झ्याल बिर्तामोडको क्षमादेवी युपिभिसीका गणेश पौडेलले सहयोग गर्ने वचन दिएका छन् । राजवंशी परिवारको अहिले १ धुर पनि जग्गा छैन ।

सहयोगीहरु अभियानमा जोडिँदै अहिलेसम्म ७ लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिवद्धता पूरा भएको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार घर निर्माणमा लाग्ने रकम १० लाखभन्दा बढी रकम संकलन गरिने छैन ।

राजवंशी समुदायको तर्फबाट सहयोग जुटाउने सञ्चारकर्मी इन्द्रसिंह राजवंशीले जानकारी दिएका छन् । पीडितको आवाजलाई सम्बोधन भएको भन्दै उनले खुसी व्यक्त गरे ।

स्वर्गीय राजवंशीकी ८५ वर्षीया छोरी सम्पति राजवंशी, छोराका छोरा (नाति)हरु भीम र छवि राजवंशी रहेका छन् । राजवंशी परिवार अहिले रंगशाला नजिकै कच्ची घरमा बसिरहेका छन् ।

सम्बन्धित खबर