आइतवार, वैशाख १६, २०८१
NayaPaper | अनलाइन पत्रिका

तरकारी खेतीमा सफल शिवसताक्षीका पौडेल दम्पत्ति

बिहिवार, चैत ८, २०८०

सरोज भट्टराई

शिवसताक्षी, ८ फागुन : झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् । शिवसताक्षी ७ सिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका हुन् ।

पौडेलले १६ कठ्ठा क्षेत्रफलमा प्याप्सिकन, बन्दाकोपी, खर्बुजा बैगुन लगायतका तरकारीहरु लगाएका छन् । उनीहरु विहानदेखि नै तरकारीको रेखदेखमा गोडमेल मै व्यस्त देखिन्छन् ।

पौडेल दम्पती दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन् । पछिल्लो समय उनीहरुले प्याप्सिकन पनि लगाएका छन् । अन्य प्रजातिका तरकारी भन्दा प्याप्सिकन तरकारीले भाउ पाउने भए पछि यस वर्षदेखि प्याप्सिकन लगाएको डिल्लीप्रसाद पौडेलले बताए ।

उनको बारीमा हाल बन्दाकोपी, खोर्सानी, बैगुन, खर्बुजा लगायतका तरकारीहरु भेटिन्छन् । जसमा बन्दा र प्याप्सिकनले आम्दानी दिन सुरु गरेको छ । उनले १० कठ्ठामा प्याप्सिकन, ३ कठ्ठामा खर्बुजा र १ कठ्ठामा बैगुन लगाएका छन् । उनको बगानमा अंगुर, स्याउ, ड्रागन फुट्स र तेलका लागि सूर्यमुखी समेत लगाइएको छ ।

शिवसताक्षी नगरपालिकाले कृषिमा अनुदान दिन थाले पछि तरकारी खेतीमा गर्न केही सहज हुन थालेको स्वयम डिल्लाप्रसाद पौडेल बताउँछन् । उनका अनुसार प्याप्सिकन बन्दा र करेलाको तुलनामा दोब्बरभन्दा पनि माथि आम्दानी देखिएको छ । उनी भन्छन्, १० कठ्ठा क्षेत्रफलमा लगाइएको प्याप्सिकनबाट खर्च कटाएर ६ लाख आम्दानी हुनेछ । तरकारी खेतीमा बजारको समस्या नभई उत्पादन मै समस्या रहेको उनको भनाई छ । पौडेलले उत्पादन गरेको तरकारी शिवसताक्षीका व्यापारीले घरमै आएर लैजाने गरेका छन् । पौडेलले भने, यहाँ भन्दा दमक र विर्तामोड पुर्याउन सके अझ बढी आम्दानी हुने गरेको छ ।

प्याप्सिकन सिजन सकिएपछि बैशाख तिर खर्बुजा पनि बिक्रीका लागि तयार हुन्छ । उनका अनुसार अहिलेको सिजनमा तरकारी खेतीमा १ लाख २० हजार खर्च भएको छ । कृषि पेशामा मेहेनत गर्न सके युवाहरु विदेश जानु नपर्ने उनको भनाई छ ।

शिवसताक्षी नगरपालिकाबाट तरकारी खेतीका लागि मल, विउविजन, मल्चिन सहयोग रहेको छ । शिवसताक्षीका कृषि शाखा प्रमुख रविन भट्टराईले प्याप्सिकन खेतबाट राम्रो आम्दानी हुने सुझाब दिएपछि प्याप्सिकन खेती सुरु गरिएको उनको भनाई छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले कृषिमा नगरपालिकाले गरेको लगानीको प्रतिफल राम्रो देखिएको बताइन् । उनले शिवसताक्षीका कृषकहरुले तरकारी खेती, तोरी खेती, कालो नुनिया धान खेती, युवा लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले दिएको अनुदानबाट मौरीपालन गरेर कृषकहरुले मन्यग्गे आम्दानी गरेको अनुगमन क्रमममा भेटिएको जानकारी दिइन् । उनले भनिन्, हामी समय समयमा नगरक्षेत्र भित्रका कृषकहरुको बारीमा जान्छौ । कृषि उत्पादनका लागि, मल, विउ र बजारीकरणका समस्याहरुका बारेमा छलफल गरेर कृषकहरुबाट सुझाब समेत लिने गरेका छौं ।

शिवसताक्षी नगरपालिकाका कृषकलाई तरकारी खेतीका लागि मल, विउ र मल्चिन २ वटा कृषक फर्मलाई तरकारी खेतीका लागि अनुदान उपलक्ध गराइएको कृषि शाखा प्रमुख रविन भट्टराई जानकारी दिए । उनले ७ वटा कृषि फर्मलाई मह उत्पादन र २ ओटा कृषि फर्मलाई तरकारी खेतीका लागि अनुदान दिइएको बताए ।

त्यस्तै नगरपालिकाले कालो नुनिया धान रोप्ने कृषकलाई प्रति कठ्ठा ५०० सयका दरले ४७ जना कृषकलाई प्रत्साहन रकम उपलब्ध गराइएको छ । तोरी खेतीका लागि पनि १० ओटा कृषक समूहलाई प्रति समूह १ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको प्रमुख भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नगरपालिकाले किसानलाई बेमौसमी खेतीका लागि टनेल समेत वितरण गर्दै आएको छ ।

कनकाई नहरबाट सिचाई हुने भएकाले शिवसताक्षी नगरपालिकाका दक्षिण क्षेत्रहरु तरकारी खेतीका लागि उपयुक्त मानिएको छ । शिवसताक्षीका ४, ५ ६ र ७ नम्बर वडाहरुका अधिकांश मानिसहरुले तरकारी खेती गर्ने गरेका छन् ।

सम्बन्धित खबर