शनिवार, वैशाख १५, २०८१
NayaPaper | अनलाइन पत्रिका

कोशी प्रदेशः तीन महिनामा चार सय ८८ आगलागीका घटना

बिहिवार, चैत ८, २०८०

झापा, ८ चैत : सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेका उहाँले बताउनुभयो ।

स्थानीय जङ्गलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रउ पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताउनुभयो ।

यही चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा एकै परिवाका तीन बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की र सात वर्षीया दिप्तिका कार्की रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिनुभयो । “आमाबुवा खेतबारीमा काम गर्न जानुभएको रहेछ”, घटनाबारे जानकारी उहाँले दिँदै भन्नुभयो, “गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ । उनीहरू भाग्नै सकेनन् ।”

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका–१ का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो । गत पुस १ गते धनकुटा नगरपालिका–५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर रू ११ लाख बराबारको क्षति भएको प्रहरीको भनाइ छ ।

गत फागुन २८ गते मेचीनगर नगरपालिका–१५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेट्स् प्रालिमा भीषण आगलागी हुँदा रू १५ करोडको क्षति भएको छ । काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठवटा र भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रउ पोखरेलले जानकारी दिनुभयो ।

यही चैत २ गते झापाको रतुवामाई वृक्षरोपण आयोजनामा ठूलो डढेलो लागेको थियो । आयोजनाको धरमपुर, केर्खा र झिलझिले नजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको सथानीयवासीको आरोप छ ।

घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन् । बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन् ।

सम्बन्धित खबर